एनएलजी इन्स्योरेन्सको व्यवसायसँगै नाफामा उल्लेख्य प्रगति

काठमाडौं । एनएलजी इन्स्योरेन्सले चालु आर्थिक वर्ष २०८३/८४ को प्रथम त्रैमास (साउन–असोज) सम्ममा ३ करोड ५३ लाख रुपैयाँ नाफा आर्जन गरेको छ ।

अघिल्लो आवमा घाटा व्योहोरेको कम्पनीले चालु आवमा नाफा आर्जन गरेको हो ।अघिल्लो आवको यही अवधिमा कम्पनीले १० करोड १० लाख रुपैयाँ नोक्सानी व्यहोरेको थियो । समीक्षा अवधिसम्म कम्पनीले १ अर्ब १७ करोड ४२ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । अघिल्लो आवको यही अवधिमा कम्पनीले ८२ करोड २१ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको थियो । अघिल्लो आवको तुलनामा कम्पनीको कुल बीमाशुल्क आर्जन ४२ प्रतिशतले बढेको छ ।

चालु वर्षको असोजसम्म कम्पनीले २१ करोड १० लाख रुपैयाँ खुद बीमा शुल्क संकलन गरेको छ। अघिल्लो वर्षको यही अवधिसम्म कम्पनीले १७ करोड ५७ लाख रुपैयाँ खुद बीमा शुल्क संकलन गरेको थियो। अघिल्लो वर्षको तुलनामा कम्पनीको खुद बीमाशुल्क आर्जन पनि बढेको हो ।

असोजसम्ममा कम्पनीले ४७ करोड ९१ लाख रुपैयाँ कुल आम्दानी गरेको छ । अघिल्लो आवको यही अवधिमा कम्पनीले ३९ करोड ४० लाख रुपैयाँ कुल आम्दानी गरेको थियो । असोज मसान्तसम्ममा कम्पनीले ७१ हजार ६३३ बीमालेख जारी गरेको छ । गत आवको यही अवधिमा कम्पनीले ५३ हजार ९५० वटा बीमालेख जारी गरेको थियो । 
कम्पनीको सोल्भेन्सी अनुपात ४२४.५० प्रतिशत पुगेको छ । त्यस्तै कम्पनीको कुल सम्पति ९ अर्ब ५ करोडबाट बढेर १० अर्ब २४ करोड रुपैयाँ पुगेको छ ।

चुक्तापुँजी २ अर्ब ६६ करोड रुपैयाँ रहेको कम्पनीको समीक्षा अवधिसम्म स्पेसल रिर्जभमा १ अर्ब ४३ करोड रुपैयाँ, महाविपत्ति कोषमा ९ करोड १२ लाख रुपैयाँ र अन्य इक्विटीमा ८ करोड ६३ लाख रुपैयाँ रहेको छ भने रिटेन्ड अर्निङ २ करोड १ लाख रुपैयाँ रहेको छ ।

अघिल्लो आवमा कम्पनीको स्पेसल रिर्जभमा १ अर्ब ४२ करोड २ लाख रुपैयाँ, महाविपत्ति कोषमा ८ करोड ९४ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा १ करोड १७ लाख रुपैयाँ र अन्य इक्विटीमा ११ करोड ५ लाख रुपैयाँ रहेको थियो । 
असोजसम्म कम्पनीको वार्षिकीकृत प्रतिशेयर आम्दानी (ईपीएस) ५ रुपैयाँ ३० पैसा रहेको छ ।

कम्पनीको प्रतिशेयर नेटवर्थ १६६ रुपैयाँ ५० पैसा रहेको छ ।
 

Share News