नेपाल बीमा प्राधिकरणका नवनियुक्त अध्यक्षलाई बीमक संघले दियो बधाई तथा शुभकामना

काठमाडौं । नेपाल बीमक संघले नेपाल बीमा प्राधिकरणका नवनियुक्त अध्यक्षलाई बधाई तथा शुभकामना दिएको छ ।

संघका अध्यक्षसहित आबद्ध सदस्य बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरूको प्रतिनिधिमण्डलले प्राधिकरणका नवनियुक्त अध्यक्षसँग शिष्टाचार भेटघाट गरेको हो ।

भेटका क्रममा संघको तर्फबाट नवनियुक्त अध्यक्षलाई सफल कार्यकालको शुभकामना व्यक्त गरिएको थियो । सो अवसरमा नेपालको बीमा क्षेत्रको समग्र विकास, विस्तार तथा सुदृढीकरणका विषयमा छलफल भएको संघले जनाएको छ ।

त्यस्तै, बीमा सेवाको पहुँच विस्तार, बीमितको हित संरक्षण तथा बीमा क्षेत्रलाई थप व्यवस्थित, पारदर्शी र विश्वसनीय बनाउने विषयमा पनि छलफल भएको थियो ।

भेटमा बीमा क्षेत्रको विकासका लागि नेपाल बीमा प्राधिकरण र बीमा कम्पनीहरूबीच आपसी समन्वय, सहकार्य र सम्बन्धलाई थप प्रभावकारी बनाउने विषयमा विचार आदानप्रदान गरिएको थियो ।

संघले नवनियुक्त अध्यक्षको सबल नेतृत्वमा नेपालको बीमा क्षेत्रले थप उचाइ हासिल गर्ने विश्वास व्यक्त गरेको छ । 

Share News