आजदेखि कोरियन भाषा परीक्षा सुरु, ७६ हजार बढी परीक्षार्थी सहभागी हुँदै

सांकेतिक तस्बिर ।

काठमाडौं । रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत दक्षिण कोरिया जान इच्छुक नेपालीका लागि कोरियन भाषा परीक्षा आजदेखि सुरु भएको छ । 

ईपीएस कोरिया शाखाले यसपटक सेवा क्षेत्रबाट परीक्षा सञ्चालन सुरु गरेको जनाएको छ ।

इपिएस शाखाका कम्प्युटर इन्जिनियर टेकबहादुर खड्काका अनुसार परीक्षाको पहिलो दिन आज सेवा क्षेत्रका आवेदकहरूको परीक्षा चलिरहेको हो ।

सेवा क्षेत्रमा १ हजार ३९ जनाले आवेदन दिएको खड्काले जानकारी दिए । यसपटकदेखि ईपीएस परीक्षामा दुई नयाँ क्षेत्र थपिएसँगै कुल चार क्षेत्रबाट परीक्षा सञ्चालन हुन लागेको हो ।

यसअघि उत्पादनमूलक तथा कृषि र पशुपालन क्षेत्रमा मात्रै परीक्षा सञ्चालन हुँदै आएको थियो । यसपटकदेखि सेवा र वन क्षेत्रलाई पनि समेटिएको खड्काले बताए । 

परीक्षा तालिका अनुसार मँसिर २ गतेदेखि वन क्षेत्रको परीक्षा सञ्चालन हुनेछ । त्यस्तै, ४ गतेदेखि कृषि तथा पशुपालन क्षेत्रको परीक्षा सुरु हुनेछ भने उत्पादनमूलक क्षेत्रको परीक्षा २५ गतेदेखि सञ्चालन हुनेछ ।

आजदेखि सुरु हुने परीक्षा आगामी माघसम्म सञ्चालन हुने ईपीएस कोरिया शाखाले जनाएको छ ।

यसपटक कोरियन भाषा परीक्षाका लागि कुल ७६ हजार १७३ जनाले आवेदन दिएका छन् । आवेदन विवरणअनुसार सबैभन्दा बढी आवेदक उत्पादनमूलक क्षेत्रमा परेको छ ।

उत्पादनमूलक क्षेत्रमा ५३ हजार १०३ जनाले आवेदन दिएको शाखाले जानकारी दिएको छ । 

शाखाका अनुसार कृषि तथा पशुपालन क्षेत्रमा २० हजार ९०७, वन क्षेत्रमा १ हजार १२४ र सेवा क्षेत्रमा १ हजार ३९ जनाको आवेदन परेको छ ।

Share News