आईजीपीबाट हटाउने निर्णयविरुद्ध दानबहादुर कार्कीको रिटमा बुधबार सुनुवाइ

काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) को जिम्मेवारीबाट हटाउने मन्त्रिपरिषद्को निर्णय बदरको माग गर्दै दानबहादुर कार्कीले दायर गरेको रिटमाथि सर्वोच्च अदालतमा बुधबार प्रारम्भिक सुनुवाइ हुने भएको छ ।

कार्कीको रिट सर्वोच्च अदालतको एकल इजलासमा पेस हुने भएको हो । उनले आफूलाई आईजीपीबाट हटाउने सरकारको निर्णय गैरकानुनी र अन्यायपूर्ण रहेको जिकिर गर्दै कात्तिक २० गते सर्वोच्चमा रिट दर्ता गराएका थिए ।

रिट दर्तापछि सर्वोच्चले प्रारम्भिक सुनुवाइका लागि कात्तिक ३० गतेको मिति तोकेको थियो । तर, सरकारले सो दिन छठ पर्वको सार्वजनिक बिदा दिएपछि सुनुवाइ स्थगित भएको थियो । तिहार र छठ पर्वको बिदापछि मंगलबारदेखि अदालत नियमित सञ्चालनमा आएसँगै रिटको सुनुवाइ बुधबारका लागि तय गरिएको हो ।

मन्त्रिपरिषद्ले कात्तिक १८ गते कार्कीलाई प्रहरी महानिरीक्षकको जिम्मेवारीबाट हटाएर प्रधानमन्त्रीको सुरक्षा सल्लाहकारमा नियुक्त गर्ने निर्णय गरेको थियो । त्यससँगै प्रहरी अतिरिक्त महानिरीक्षक ९एआईजी० डा। मनोजकुमार केसीलाई बढुवा गरी नयाँ प्रहरी महानिरीक्षक नियुक्त गरिएको थियो ।

सरकारको उक्त निर्णयले आफूलाई अन्याय भएको र कानुनी आधारबिना पदबाट हटाइएको कार्कीको दाबी छ । उनले मन्त्रिपरिषद्को निर्णय बदर गरी आफूलाई पुनः प्रहरी महानिरीक्षकको जिम्मेवारीमा कायम गर्नुपर्ने मागसहित सर्वोच्चको ढोका ढकढक्याएका हुन् । 

Share News