काठमाडौं । आज विश्व मधुमेह दिवस । मधुमेहमा छिटो पहल भन्ने नाराका साथ नेपाल लगायत विश्वभर मनाइँदैछ । मधुमेहका कारण उत्पन्न हुने स्वास्थ्य तथा आर्थिक जोखिमप्रति बढ्दो चिन्तालाई सम्बोधन गर्न विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) को सहयोगमा अन्तर्राष्ट्रिय मधुमेह महासङ्घद्वारा सन् १९९१ देखि यो दिवस मनाउन थालिएको हो ।
बदलिँदो खानपान, शारीरिक निष्क्रियता र तनावपूर्ण दैनिकीका कारण मधुमेहको जोखिम बढ्दै गएको छ । बालबालिकादेखि वृद्धवृद्धालाई प्रभावित पारिरहेको यो रोग समयमै पहिचान र नियन्त्रण गर्न नसके आँखाको ज्योति गुम्ने, मिर्गौलाको कार्यक्षमता घट्ने, हृदयघात तथा मस्तिष्कघातसम्मको जोखिम निम्त्याउन सक्छ ।
पहिले मानिसको दैनिकीमा शारीरिक श्रमको हिस्सा बढी हुन्थ्यो । खेतबारीमा काम गर्ने, पैदल हिँड्ने र घरायसी काममा सक्रिय रहने बानी सामान्य थियो । अहिले प्रविधिको विकाससँगै जीवन सहज बनेको छ, तर त्यसको मूल्य शारीरिक सक्रियता घटाएर चुकाउनुपरेको छ । कार्यालयमा घन्टौं कुर्सीमा बसेर काम गर्ने, घरमा मोबाइल तथा टेलिभिजनमा समय बिताउने र नियमित व्यायाम नगर्ने प्रवृत्ति बढेको छ ।
यसमा असन्तुलित खानपान र मानसिक तनावसमेत थपिँदा मधुमेहको जोखिम बढिरहेको चिकित्सकहरू बताउँछन् । वीर अस्पतालमा कार्यरत मधुमेह रोग विशेषज्ञ डा. सुकेश ढकालका अनुसार नेपालमा मात्रै नभई विश्वभर नै मधुमेहका बिरामीको संख्या बढ्दो क्रममा छ ।
किन बढ्दैछ मधुमेहको जोखिम ?
शरीरले खानाबाट प्राप्त गर्ने ऊर्जा पर्याप्त खर्च गर्न नपाउँदा अतिरिक्त क्यालोरी बोसोका रूपमा जम्मा हुन थाल्छ । यसले तौल बढाउनुका साथै शरीरमा इन्सुलिनको प्रभावकारिता घटाउन सक्छ । परिणामस्वरूप टाइप २ मधुमेहको जोखिम बढ्छ । डा. ढकालका अनुसार शारीरिक निष्क्रियता र बदलिँदो खानपान यसका प्रमुख कारण हुन्। त्यस्तै, लामो समयसम्म रहने मानसिक तनावले शरीरमा तनावसम्बन्धी हर्मोनको स्तर बढाएर रगतमा ग्लुकोजको मात्रा प्रभावित पार्न सक्छ ।
वंशाणुगत कारण पनि मधुमेहको जोखिमसँग जोडिएको हुन्छ । आमाबुबा वा परिवारका नजिकका सदस्यमा मधुमेह छ भने अन्य सदस्यमा पनि यसको सम्भावना बढी हुन सक्छ । तर पारिवारिक इतिहास हुँदैमा अनिवार्य रूपमा रोग लाग्छ भन्ने होइन । सन्तुलित खानपान, नियमित शारीरिक गतिविधि र तौल व्यवस्थापनले जोखिम कम गर्न सकिने डा. ढकाल बताउँछन् ।

बालबालिकादेखि वृद्धवृद्धासम्म जोखिममा
डा. ढकालका अनुसार मधुमेह कुनै निश्चित उमेर समूहमा मात्र सीमित छैन । यसको प्रकृति र कारणअनुसार मुख्य रूपमा टाइप १, टाइप २ र गर्भावस्थाजन्य मधुमेह गरी विभिन्न प्रकारमा वर्गीकरण गरिने उनले बताए । टाइप १ मधुमेह प्रायः बालबालिका तथा किशोर-किशोरीमा देखिन्छ । यस अवस्थामा शरीरको प्रतिरक्षा प्रणालीले गल्तीवश अग्न्याशयमा इन्सुलिन उत्पादन गर्ने कोषिकालाई नष्ट गर्छ । फलस्वरुप शरीरले पर्याप्त इन्सुलिन उत्पादन गर्न सक्दैन ।
इन्सुलिनले रगतमा रहेको ग्लुकोजलाई शरीरका कोषिकासम्म पुर्याउन मद्दत गर्छ । यसको अभावमा रगतमा चिनीको मात्रा बढ्छ । यस्तो मधुमेह भएका व्यक्तिलाई नियमित इन्सुलिन उपचार आवश्यक पर्छ । उनका अनुसार मधुमेहका बिरामीमा सबैभन्दा बढी देखिने प्रकार टाइप २ हो । यसमा शरीरले इन्सुलिन उत्पादन गरे पनि त्यसको प्रभावकारी उपयोग गर्न सक्दैन । यस अवस्थालाई इन्सुलिन प्रतिरोध भनिन्छ ।
अत्यधिक तौल, शारीरिक निष्क्रियता, असन्तुलित खानपान र वंशाणुगत जोखिम यसका प्रमुख कारण हुन् । पहिले प्रौढ उमेरमा बढी देखिने यो समस्या अहिले कम उमेरका व्यक्तिमा पनि देखिन थालेको डा. ढकाल बताउँछन् ।
गर्भावस्थाका क्रममा हुने हर्मोनल परिवर्तनले केही महिलामा रगतमा चिनीको मात्रा बढाउन सक्ने उनले बताए । समयमै पहिचान र नियन्त्रण नगरे यसले आमा तथा गर्भमा रहेको शिशुको स्वास्थ्यमा असर पार्न सक्छ । त्यसैले गर्भवती महिलाले नियमित स्वास्थ्य परीक्षण गराउनु आवश्यक हुने उनि बताउँछन् ।
बिना लक्षण शरीरका विभिन्न अङ्गमा क्षति
मधुमेहको सबैभन्दा जोखिमपूर्ण पक्षमध्ये एक यसको दीर्घकालीन असर रहेको डा. ढकाल बताउँछन् । उनका अनुसार कतिपय व्यक्तिमा लामो समयसम्म कुनै स्पष्ट लक्षण देखिँदैन । तर रगतमा ग्लुकोजको मात्रा निरन्तर उच्च रहँदा रक्तनली र नसामा क्रमशः क्षति पुग्न थाल्छ । यसको असर आँखादेखि मिर्गौला, मुटु र स्नायुसम्म देखिन सक्छ ।
जस्तै आँखाको ज्योति गुम्ने, मिर्गौलाको कार्यक्षमता घट्ने, हातखुट्टा झमझमाउने र पोल्ने समस्या, मुटुरोग र हृदयघात हुने, मस्तिष्कघात हुने सम्भावना अझ बढी हुने उनले बताए । ‘त्यसैले मधुमेह भएका व्यक्तिले रगतमा चिनीको मात्रा मात्र नभई रक्तचाप र कोलेस्टेरोलको अवस्थासमेत नियन्त्रणमा राख्नुपर्छ,’ उनले भने ।

मधुमेहबाट बच्न के गर्ने ?
डा. ढकालका अनुसार मधुमेहको जोखिम घटाउन र रोग लागि सकेपछि नियन्त्रणमा राख्न जीवनशैलीमा सुधार गर्नु आवश्यक छ ।
सन्तुलित खानपान गर्ने: चिनी तथा गुलिया खानेकुरा मात्र नभई भात, रोटी, आलु, चिउरा, मैदाजन्य परिकारलगायत कार्बोहाइड्रेट युक्त खानेकुराको मात्रा पनि मिलाएर खाने । हरियो साग सब्जी, दाल तथा फाइबरयुक्त खानेकुरालाई प्राथमिकता दिने ।
एकैपटक धेरै खाना नखाने: आफ्नो शरीरको आवश्यकता र स्वास्थ्य अवस्थाअनुसार सन्तुलित भोजन गर्ने । खानाको मात्रा र समयतालिका मिलाउने तथा चिकित्सक वा पोषणविद्को सल्लाह लिने ।
खाना खाएपछि हिँड्ने: खाना वा खाजा खाएपछि पाँचदेखि १० मिनेट हल्का हिँड्ने बानी बसाल्ने । यसले रगतमा ग्लुकोजको मात्रा व्यवस्थापन गर्न सहयोग गर्छ
नियमित व्यायाम गर्ने: दैनिक हिँडडुल गर्ने, शारीरिक गतिविधि बढाउने र लामो समय एउटै ठाउँमा बसेर काम गर्ने बानी घटाउने ।
तौल नियन्त्रणमा राख्ने: शरीरको तौल र पेटको बोसो बढ्न नदिने । आवश्यकताअनुसार खानपान र व्यायाममार्फत स्वस्थ तौल कायम राख्ने ।
मानसिक तनाव व्यवस्थापन गर्ने: पर्याप्त निद्रा लिने, तनाव कम गर्ने, मनोरञ्जन तथा शारीरिक गतिविधिका लागि समय निकाल्ने र मानसिक स्वास्थ्यमा ध्यान दिने ।
धूमपान तथा सुर्तीजन्य पदार्थबाट टाढा रहने: धूमपान र सुर्तीजन्य पदार्थले रक्तनलीमा क्षति पुर्याउने भएकाले यस्ता पदार्थको सेवन नगर्ने। मदिराबाट पनि टाढा रहने ।
नियमित स्वास्थ्य परीक्षण गर्ने: जोखिममा रहेका व्यक्तिले चिकित्सकको सल्लाहअनुसार फास्टिङ ब्लड सुगर र एचबीएवानसी परीक्षण गराउने । मधुमेह भएका व्यक्तिले मिर्गौला, आँखा, रक्तचाप र कोलेस्ट्रोलको अवस्थासमेत नियमित जाँच गर्ने ।
औषधि नियमित सेवन गर्ने: मधुमेह पहिचान भएका व्यक्तिले चिकित्सकले दिएको औषधि नियमित सेवन गर्ने। आफ्नो इच्छाले औषधि बन्द गर्ने वा मात्रा परिवर्तन नगर्ने ।
पारिवारिक इतिहास भए थप सचेत हुने: आमाबुवा वा परिवारका सदस्यमा मधुमेह छ भने आफूले पनि समयमै रगतमा चिनीको परीक्षण गराउने र जीवनशैलीमा विशेष ध्यान दिने ।