विश्व मधुमेह दिवसमा निःशुल्क स्वास्थ्य शिविर

काठमाडौं । नेपाल मधुमेही समाजले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । विश्व मधुमेह दिवसको अवसरमा समाजले शनिबार काठमाडौमा निःशुल्क स्वास्थ्य शिविर तथा प्रभातफेरी कार्यक्रम आयोजना गरेको हो । 

शिविरमा चिनीरोग सम्बन्धी रक्त परीक्षण, रक्तचाप परीक्षण, अक्सिजन परीक्षण एसपीओटु लेबिल मापन, मिर्गौला रोग सम्बन्धी रक्त परीक्षण गरिएको थियो । 

त्यसैगरी मधुमेहका कारण आँखामा पर्न सक्ने असर पहिचान गर्न डायबेटिक रेटिनोप्याथी स्क्रिनिङ, खुट्टाको स्नायु परीक्षण (डायबेटिक न्युरोप्याथी) पनि गरिएको समाजले जनाएको छ । 

समाजका अनुसार वरिष्ठ चिकित्सकहरूबाट सहभागीहरुलाई स्वास्थ्य परामर्श सेवा पनि उपलब्ध गराईएको थियो ।

यस्तै, प्रभातफेरीमार्फत मधुमेह रोगको जोखिम, समयमै परीक्षण, नियमित स्वास्थ्य जाँच, स्वस्थ जीवनशैली र रोग नियन्त्रणका उपायबारे जनचेतना फैलाउने सन्देश प्रवाह गरिएको समाजले जनाएको छ । 

मधुमेह रोगको समयमै पहिचान, नियमित परीक्षण तथा उचित उपचारको महत्वलाई जनसमुदायसम्म पुर्याउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजकको भनाई छ । शिविरमा स्थानियहरुको उल्लेख्य सहभागीता रहेको थियो । 

Share News