काठमाडौं । अमेरिकी संघीय उड्डयन प्रशासन (एफएए) ले सञ्चार प्रणालीमा आएको प्राविधिक समस्याका कारण देशभरका विमानस्थलमा लगाएको उडान रोक आदेश केही घण्टापछि हटाएको छ ।
यद्यपि, विमान र चालक दलका सदस्यहरू निर्धारित स्थानमा नपुगेकाले उडान तालिका तत्काल सामान्य अवस्थामा फर्किने देखिएको छैन ।
उडान ट्रयाकिङ वेबसाइट फ्लाइटअवेयरका अनुसार यस अवरोधका कारण शुक्रबार ४ हजार ५ सयभन्दा बढी र शनिबार करिब ७ सय उडान रद्द भएका छन् भने अमेरिका आउने, जाने र आन्तरिक गरी १० हजारभन्दा बढी उडान ढिला भएका छन् ।
अस्थायी दूरसञ्चार अवरोधका कारण उच्च सतर्कता अपनाउँदै एफएएले सुरुमा अर्को सूचना जारी नभएसम्म सबै प्रस्थान उडान रोक्ने निर्णय गरेको थियो ।
अमेरिकी यातायातमन्त्री सन डफीले हवाई ट्राफिक नियन्त्रण प्रणालीमा सन् १९८० को दशकको पुरानो स्विच, राउटर र तामाका तारमा आधारित पूर्वाधार प्रयोग भइरहेकाले यो समस्या आएको स्पष्ट पारेका छन् ।
घटनाको अघिल्लो दिनमात्रै उनले हवाई ट्राफिक प्रणालीको आधुनिकीकरणका लागि कंग्रेससँग ३० अर्ब अमेरिकी डलर माग गरेका थिए ।
यसैबीच, होमल्यान्ड सेक्युरिटी मन्त्री मार्कवेन मुलिनले उक्त अवरोधमा साइबर आक्रमण वा कृत्रिम बुद्धिमत्ता (एआई) को संलग्नता नरहेको र सर्वसाधारणको सुरक्षामा कुनै खतरा उत्पन्न नभएको बताएका छन् ।
सन् २०२३ जनवरीमा एफएएको प्रणालीमा गडबडी आएयता अमेरिकामा देशव्यापी उडान रोकिएको यो पहिलो घटना हो, जसअघि सन् २००१ को सेप्टेम्बर ११ को आतंकवादी हमलापछि देशभरका उडान रोकिएका थिए ।