नेपाल संवत् र म्हः पूजा राष्ट्रिय एकताका आधारस्तम्भ हुन् : प्रधानमन्त्री शाह

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल संवत् ११४७ (न्हूदँया भिन्तुना) तथा म्हः पूजाको अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपालीलाई शुभकामना व्यक्त गर्दै यी मौलिक पर्वले नेपालको सांस्कृतिक पहिचान, आत्मसम्मान र सामाजिक एकतालाई बलियो बनाउने बताएका छन् ।

नेपाल संवत् केवल समय गणना गर्ने पात्रो मात्र होइन, नेपालको मौलिक इतिहास, स्वाभिमान र पहिचानसँग जोडिएको सांस्कृतिक सम्पदा पनि हो । राष्ट्रिय विभूति शङ्खधर साख्वाःले देशभरका जनतालाई ऋणमुक्त बनाएर सुरु गरेको यस संवत्ले नेपाली समाजमा न्याय, समानता र सामूहिक हितको ऐतिहासिक सन्देश बोकेको प्रधानमन्त्री शाहको भनाइ छ । चन्द्रमामा आधारित नेपाल संवत् नेपाली मौलिक समयचक्रको प्रतीकका रूपमा स्थापित रहेको उनले उल्लेख गरेका छन् ।

नेपाल संवत्कै नयाँ वर्षका अवसरमा नेवार समुदायले मनाउने म्हः पूजा पनि आत्मसम्मान, आत्मशुद्धि र चेतनाको बोध गराउने विशिष्ट सांस्कृतिक परम्परा हो । ‘म्ह’ अर्थात् आफ्नै शरीरलाई पूजा गर्ने यस परम्परामा अष्टचिरञ्जीवीको प्रतीक मण्डप तयार गरी आफैंले आफैंलाई पूजा गरिन्छ । आफ्नो अस्तित्व, शरीर र चेतनाप्रति सम्मान प्रकट गर्ने यस पर्वले व्यक्तिलाई आत्मबोध गराउनुका साथै समुदायभित्र आपसी सद्भाव र आत्मबल अभिवृद्धि गर्ने प्रधानमन्त्री शाहले बताएका छन् ।

उनका अनुसार म्हः पूजाले नेवार समुदायको पुख्र्यौली संस्कृति र परम्पराको संरक्षण गर्दै जातीय एकतालाई थप प्रगाढ बनाएको छ । पुस्तौँदेखि निरन्तरता पाउँदै आएको यस्तो मौलिक परम्परा नेपालको सांस्कृतिक विविधता र सामाजिक एकताको गौरवपूर्ण उदाहरण हो ।

नेपालका चाडपर्व र संस्कृतिमा प्रकृति, कृषि र जीवजन्तुप्रतिको सम्मान पनि उत्तिकै महत्त्वपूर्ण रूपमा जोडिएको छ । गोवद्र्धन पूजा तथा हलि तिहार यसका उदाहरण हुन् । पौराणिक मान्यताअनुसार भगवान् श्रीकृष्णले गोवद्र्धन पर्वत उठाएर द्वारिकावासीलाई बचाउनुभएको स्मरणमा गोवद्र्धन पूजा गरिन्छ । यस अवसरमा वर्षभरि कृषि कर्ममा सहयोग गर्ने गोरुलाई पिठो, नुन र बावर खुवाउने तथा हलो, फालीलगायत कृषि औजारको पूजा गर्ने परम्परा रहेको छ ।

कृषि र पशुपालनलाई जीवनको आधार मान्दै आएको नेपाली समाजमा गोरुको योगदानलाई सम्मान गर्ने यो परम्पराले मानव र प्रकृतिबीचको सम्बन्धसमेत उजागर गर्छ । खेतीपातीमा अहोरात्र खटिने किसान र कृषि कर्मका सहयात्री पशुप्रतिको सम्मान यस पर्वको महत्त्वपूर्ण पक्ष हो ।

त्यस्तै, तिहारका अवसरमा खेलिने भैलो र देउसीले पनि नेपाली समाजमा आत्मीयता र सद्भावको वातावरण निर्माण गर्छन् । भैलोका मधुर भाका र देउसेहरूको आशीर्वादले छरछिमेक तथा आफन्तबीचको सम्बन्धलाई थप नजिक बनाउने गर्छ । यस्ता सांस्कृतिक गतिविधिले मनोरञ्जन मात्र प्रदान गर्दैनन्, सामाजिक सम्बन्ध र सामूहिक भावनालाई समेत जीवन्त राख्छन् ।

प्रधानमन्त्री शाहले मौलिक चाडपर्वलाई आपसी रिसराग बिर्सने, सामाजिक सद्भाव कायम गर्ने र सहिष्णुताको भावना बलियो बनाउने अवसरका रूपमा लिनुपर्ने बताएका छन् । विविध जातजाति, भाषा, संस्कृति र परम्पराले समृद्ध नेपाली समाजमा यस्ता पर्वले आपसी सम्मान र एकताको भावना अभिवृद्धि गर्ने उनको विश्वास छ ।

Share News