सुन महँगियो, चाँदी सस्तियो

काठमाडौं । पछिल्लो एक सातामा अन्तर्राष्ट्रिय बजारको प्रभावका कारण नेपाली बजारमा सुनचाँदीको मूल्यमा उतारचढाव देखिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार समग्र साताभरको कारोबारलाई हेर्दा सुनको मूल्यमा उल्लेख्य वृद्धि भएको छ भने चाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । गत साताको शुक्रबार प्रतितोला २ लाख ८० हजार ३०० रुपैयाँमा कारोबार भएको सुन यो साताको शुक्रबारसम्म आइपुग्दा तोलामा २ हजार ७०० रुपैयाँले बढेर २ लाख ८३ हजार रुपैयाँ पुगेको छ ।

साताको पहिलो दिन आइतबार नै सुनको भाउमा ठूलो गिरावट आएको थियो । उक्त दिन एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँले घट्दै सुन प्रतितोला २ लाख ७२ हजार रुपैयाँमा कारोबार भएको थियो । तर, त्यसपछिका दिनहरूमा भने सुनको मूल्य निरन्तर उकालो लाग्यो । सोमबार तोलामा २ हजार ३०० रुपैयाँले बढेर २ लाख ७४ हजार ३०० रुपैयाँ पुगेको सुन मंगलबार ७०० रुपैयाँ बढेर २ लाख ७५ हजार रुपैयाँ र बुधबार ६०० रुपैयाँ बढेर २ लाख ७५ हजार ६०० रुपैयाँमा किनबेच भयो । 

बिहीबार भने सुनको मूल्यमा अप्रत्याशित उच्च वृद्धि भयो, जहाँ एकैदिन तोलामा १३ हजार ३०० रुपैयाँले बढेर मूल्य प्रतितोला २ लाख ८८ हजार ९०० रुपैयाँसम्म पुगेको थियो । साताको अन्तिम दिन शुक्रबार भने बजारमा पुनः उच्च गिरावट आउँदै सुन तोलामा ५ हजार ९०० रुपैयाँले घटेर २ लाख ८३ हजार रुपैयाँमा सीमित भई साताको कारोबार बन्द भएको छ । 

यता चाँदीको मूल्यमा पनि साताभर नै उतारचढाव कायम रह्यो । गत साताको शुक्रबार प्रतितोला ३ हजार ८२५ रुपैयाँमा कारोबार भएको चाँदी यो साताको शुक्रबारसम्म १५ रुपैयाँले घटेर ३ हजार ८१० रुपैयाँमा झरेको छ । आइतबार तोलामा १७५ रुपैयाँले घट्दै ३ हजार ६५० रुपैयाँमा कारोबार सुरु भएको चाँदी सोमबार भने ७० रुपैयाँले बढेर ३ हजार ७२० रुपैयाँ पुगेको थियो । 

त्यसपछि मंगलबार ४५ रुपैयाँ र बुधबार २० रुपैयाँले घट्दै क्रमशः ३ हजार ६७५ रुपैयाँ र ३ हजार ६५५ रुपैयाँ कायम भएको थियो । बिहीबार चाँदीको मूल्यमा पनि तीव्र उछाल आउँदै तोलामा २६५ रुपैयाँले बढेर ३ हजार ९२० रुपैयाँ पुगेको भए पनि अन्तिम दिन शुक्रबार तोलामा ११० रुपैयाँको गिरावटका साथ प्रतितोला ३ हजार ८१० रुपैयाँमा साताको कारोबार टुङ्गिएको छ ।

Share News