लक्ष्मीपूजामा २ हजार मेगावाटसम्म विद्युत माग हुने प्रक्षेपण, आपूर्तिमा समस्या नहुने

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले यस वर्ष लक्ष्मीपूजाका दिन विद्युत् माग करिब २ हजार मेगावाटसम्म पुग्ने अनुमान गरेको छ । 

पर्याप्त विद्युत् उत्पादन क्षमता र नदीमा पानीको बहाव राम्रो रहेकाले बढ्दो माग व्यवस्थापन गर्न समस्या नहुने प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठका अनुसार अहिले प्राधिकरणसँग २ हजार ७ सयदेखि २ हजार ८ सय मेगावाटभन्दा बढी विद्युत् उपलब्ध गराउन सक्ने क्षमता छ । 

लक्ष्मीपूजाका दिन हुने विद्युत् माग सहजै धान्न सकिने उनको भनाइ छ ।

लक्ष्मीपूजाका दिन घरघरमा झिलिमिली बत्ती बाल्ने परम्पराका कारण अन्य दिनको तुलनामा विद्युत् खपत बढ्ने गर्छ । 

तर, त्यस दिन केही उद्योग तथा कलकारखाना बन्द रहने भएकाले औद्योगिक खपत घट्ने र घरायसी खपत बढ्ने अवस्थालाई सन्तुलन गर्दा माग १ हजार ९ सयदेखि २ हजार मेगावाटसम्म पुग्ने प्राधिकरणको प्रक्षेपण छ ।

गत वर्ष लक्ष्मीपूजाका दिन विद्युतको उच्चतम माग (पिक लोड) १ हजार ६ सयदेखि १ हजार ७ सय मेगावाटसम्म पुगेको थियो । यस वर्ष विद्युत् खपत केही बढ्ने अनुमान गरिएको हो । 

अहिले नेपालको राष्ट्रिय विद्युत् प्रणालीको पिक लोड सामान्यतया २ हजार १ सयदेखि २ हजार २ सय मेगावाटको हाराहारीमा रहेको श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार विद्युत् उत्पादन तथा आपूर्तितर्फ पर्याप्त क्षमता भए पनि लक्ष्मीपूजाका दिन घरायसी खपत अत्यधिक बढ्दा वितरण प्रणालीमा भने प्राविधिक समस्या आउन सक्ने सम्भावना छ । 

विशेषगरी घरमा जडान गरिएका मिटरको क्षमताभन्दा बढी विद्युत् खपत हुँदा एमसीबी ट्रिप हुने र मिटर जल्ने समस्या देखिन सक्छ । त्यस्तै, ट्रान्सफर्मर र ११ केभीका फिडरमा समेत अतिरिक्त भार पर्न सक्छ ।

सम्भावित समस्या रोक्न प्राधिकरणले वितरण प्रणालीमा विशेष तयारी गरिरहेको छ । 

देशभरका वितरण केन्द्रका कर्मचारी तथा प्राविधिक टोलीले विद्युत् भारको विश्लेषण गरी बढी भार भएका ट्रान्सफर्मरको लोड घटाउने, आवश्यकताअनुसार अन्य स्थानमा भार स्थानान्तरण गर्ने र फिडर व्यवस्थापन तथा प्राविधिक सेटिङ मिलाउने काम गरिरहेका छन् ।

लक्ष्मीपूजाका दिन सामान्य अवस्थाभन्दा १५ देखि २० प्रतिशतसम्म विद्युत् भार बढे पनि व्यवस्थापन गर्न सकिने गरी तयारी गरिएको श्रेष्ठले बताए । 

कुनै स्थानमा बढी भारका कारण विद्युत् अवरुद्ध भए तत्काल मर्मत गरी सेवा सञ्चालन गर्न प्राविधिक तथा कर्मचारीलाई तयारी अवस्थामा राखिएको उनले जानकारी दिए ।

विद्युत् सेवा अवरुद्ध भए १५ देखि २० मिनेटदेखि बढीमा आधा घण्टाभित्र पुनः सञ्चालन गर्ने गरी जनशक्ति परिचालनको व्यवस्था मिलाइएको प्राधिकरणले जनाएको छ ।

श्रेष्ठले विद्युत् उत्पादन र आपूर्तिका हिसाबले पर्याप्त क्षमता रहेकाले उपभोक्तालाई ढुक्क भएर लक्ष्मीपूजा मनाउन आग्रहसमेत गरेका छन् ।

Share News