काठमाडौं । तिहार तथा छठमा ठगी, चोरी, डकैती, लुटपाट, जुवातास, अनलाइन ठगी, बेटिङ, नक्कली नोटको कारोबार, अवैध हुण्डी कारोबार हुने प्रहरी परिचालनको संख्या बढाइने भएको छ ।
आपराधिक गतिविधिहरू नियन्त्रण तथा न्यूनीकरण गर्न प्रभावकारी रूपमा प्रहरी परिचालित हुने प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
काठमाडौं उपत्यकाबाट बाहिरिने सवारी चालकको सवारी चालक अनुमति पत्र चेकजाँच, मादक पदार्थ एवम् लागूपदार्थ सेवन चेकजाँच, सिट क्षमता अनुसार यात्रु राखे नराखेको प्रहरीले चेक गर्ने छ । प्रहरीले लामो दूरीको सवारी साधनहरूमा २ जना चालक भए नभएको चेकजाँच गर्ने र प्रत्येक सवारी साधनहरूको मेकानिकल चेकजाँच गर्ने भएको छ ।
कृत्रिम अभाव सिर्जना गर्ने, अस्वाभाविक मूल्यवृद्धि गर्ने, म्याद गुज्रिएका तथा गुणस्तरहीन वस्तु बिक्री गर्ने र उपभोक्तालाई ठगी गर्ने गतिविधि हुन सक्ने भएकाले नेपाल प्रहरीले नियन्त्रण गर्न विशेष सक्रियता अपनाएको छ ।
नेपाल प्रहरीले वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग, स्थानीय तह, जिल्ला प्रशासन कार्यालय र अन्य सरोकारवाला निकायसँग समन्वय गरी बजार अनुगमनमा सहकार्य गरिरहेको छ ।
कृत्रिम अभाव सिर्जना गर्ने, अस्वाभाविक मूल्यवृद्धि गर्ने तथा बढी मूल्य लिने व्यवसायीमाथि निगरानी र आवश्यक अनुसन्धान गर्ने, उपभोक्ताको स्वास्थ्यमा प्रतिकूल असर पार्ने म्याद गुज्रिएका, नक्कली तथा गुणस्तरहीन वस्तुको बिक्रीवितरण सम्बन्धी सूचनामा तत्काल कारबाहीका गर्ने भएको छ ।
ठूला व्यापारिक केन्द्र, गोदाम, डिपो, बजार क्षेत्र तथा आपूर्ति मार्गहरूमा आवश्यक सुरक्षा निगरानी र चेकजाँचलाई थप तीव्र बनाउँदै प्रहरीले कार्य गरिरहेको छ ।
कालोबजारी, मूल्यवृद्धि र उपभोक्ता ठगी सम्बन्धी सूचना संकलन गरी तत्काल प्रहरी परिचालन गर्नेछ । उपभोक्ताबाट प्राप्त गुनासो, सूचना तथा उजुरीलाई प्राथमिकताका साथ सम्बोधन गर्न प्रहरी कार्यालयहरूलाई सक्रिय बनाउनुका साथै आवश्यकता अनुसार संयुक्त अनुगमन टोली परिचालन गरिने छ ।
प्रहरीले फूलमाला तथा पूजासामग्रीको बिक्रीवितरणमा उपभोक्ता नठगिऊन् भन्ने उद्देश्यले व्यवसायीलाई पारदर्शी मूल्यमा बिक्रीवितरण गर्न अनुरोध गरेको छ । फूलमाला तथा अन्य पूजा सामग्रीको कृत्रिम अभाव सिर्जना गर्ने, अस्वाभाविक मूल्यवृद्धि गर्ने र उपभोक्तालाई ठगी गर्ने गतिविधि रोक्न सम्बन्धित निकायसँग समन्वय गरी बजार अनुगमन, मूल्यसूचीको पालना तथा उपभोक्ता हित संरक्षणमा निगरानी गर्ने कार्य समेत प्रहरीले गरिरहेको छ ।
चाडपर्वको अवधिमा देशभर समग्र सुरक्षा व्यवस्थालाई भरपर्दो बनाइएको प्रहरीका प्रवक्ता अबीनारायण काफ्लेले बताए । नागरिकलाई सुरक्षाको प्रत्याभूति दिलाउन योजनाबद्ध रूपमा प्रहरी परिचालन, अनुगमन तथा सुरक्षा मापदण्ड समेतलाई लक्षित गरी विशेष सुरक्षा योजना अवलम्बन गरिएको उनको भनाइ छ ।
प्रहरीले पटका, आतिसबाजी तथा पटकाजन्य पदार्थको प्रयोगले आगलागी, मानवीय चोटपटक, अङ्गभङ्ग, घर तथा सम्पत्तिमा क्षति र वातावरणीय प्रदूषण निम्त्याउन सक्ने भएकाले अनुरोध गरेको छ ।
बालबालिकाको हातमा पटका तथा प्रज्वलनशील पदार्थ नदिन, उनीहरूलाई यस्ता वस्तुबाट टाढा राख्नुपर्ने प्रहरीले बताएको छ। अभिभावकले विशेष निगरानी र सचेतना अपनाउनुपर्ने, आगलागीबाट बच्न आवश्यक सतर्कता अपनाउनुपर्ने, विद्युत सर्ट हुन सक्ने सम्भावनालाई ध्यानमा राखी घर तथा पसलको सुरक्षा गर्नुपर्ने काफ्लेले बताएका छन्।
विस्फोटक पदार्थको आवाजबाट हुनसक्ने ध्वनि प्रदूषण नियन्त्रण, सार्वजनिक स्थान तथा सडकमा पटका नपड्काउन, पटका तथा विस्फोटक पदार्थको अवैध कारोबार नगर्न एवम् मादक पदार्थ सेवन गरी यात्रा नगर्न समेत प्रहरीले विशेष अनुरोध गरेको छ ।