लक्ष्मीपूजामा विद्युतको माग १ हजार ७०० मेगावाट पुग्ने, उत्पादन साढे २ हजार

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले तिहार तथा छठ पर्वका अवसरमा विद्युत् आपूर्ति नियमित, भरपर्दो र गुणस्तरीय बनाउन विशेष तयारी गरेको छ । पर्वका समयमा विद्युत् आपूर्ति प्रभावित हुन नदिन उत्पादन, प्रसारण तथा वितरण प्रणाली चुस्त राख्नुका साथै प्राविधिक कर्मचारीलाई चौबिसै घण्टा तयारी अवस्थामा राख्ने व्यवस्था मिलाइएको प्राधिकरणले जनाएको छ ।

विद्युत् आपूर्ति व्यवस्थापन तथा प्रणाली सञ्चालनको तयारीबारे प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठको अध्यक्षतामा वरिष्ठ व्यवस्थापन टोलीको बैठक बसेको थियो । बैठकमा पर्व अवधिमा विद्युत् आपूर्ति सहज बनाउने, प्रणाली सञ्चालनलाई प्रभावकारी बनाउने र सम्भावित प्राविधिक समस्या तत्काल समाधान गर्ने विषयमा छलफल भएको थियो ।

त्यस्तै, प्रणाली सञ्चालन विभाग, ग्रिड सञ्चालन विभाग तथा वितरण तथा ग्राहक सेवा निर्देशनालयअन्तर्गतका प्रादेशिक र प्रदेश डिभिजन कार्यालय प्रमुखहरूसँग संयुक्त भर्चुअल बैठक गरी आवश्यक समन्वय गरिएको प्राधिकरणले जनाएको छ ।

कार्यकारी निर्देशक श्रेष्ठले पर्व अवधिभर विद्युत् आपूर्तिमा अवरोध हुन नदिन आवश्यक सबै तयारी गर्न सम्बन्धित कार्यालय प्रमुखहरूलाई निर्देशन दिएका छन् । विद्युत् आपूर्तिमा समस्या देखिए तत्काल मर्मतसम्भार गरी सेवा सञ्चालन गर्न प्राविधिक टोलीलाई तयारी अवस्थामा राख्न पनि उनले निर्देशन दिएका छन् ।

प्रसारण लाइन तथा वितरण प्रणालीको निरीक्षण र मर्मतसम्भारका बाँकी काम तत्काल सम्पन्न गर्नसमेत निर्देशन दिइएको छ । विद्युत् सेवासम्बन्धी गुनासो छिटो सम्बोधन गर्न नो लाइट सेवामा आउने फोन नियमित उठाउने र गुनासो व्यवस्थापन प्रभावकारी बनाउन कार्यालय प्रमुखहरूलाई भनिएको छ ।

null

प्राधिकरणले यस वर्षको लक्ष्मीपूजाका दिन साँझ विद्युतको अधिकतम माग करिब १ हजार ७०० मेगावाट पुग्ने अनुमान गरेको छ । उक्त माग पूरा गर्न आन्तरिक उत्पादन नै पर्याप्त हुने कार्यकारी निर्देशक श्रेष्ठले बताएका छन् । उनका अनुसार सो अवधिमा विद्युत् उत्पादन करिब २ हजार ५०० मेगावाट पुग्ने प्रक्षेपण गरिएको छ ।

आन्तरिक मागभन्दा उत्पादन बढी हुने भएकाले पर्व अवधिमा विद्युत् आपूर्ति सहज बनाउन पर्याप्त विद्युत् उपलब्ध हुने प्राधिकरणको अपेक्षा छ ।

पर्वभर विद्युतको माग र आपूर्तिको अवस्थाबारे नियमित अनुगमन गरिनेछ । प्रणाली सञ्चालन विभाग, ग्रिड सञ्चालन विभाग र वितरण केन्द्रबीच निरन्तर समन्वय गरी सम्भावित समस्या समयमै पहिचान तथा समाधान गर्ने व्यवस्था मिलाइएको प्राधिकरणले जनाएको छ ।

यसैबीच, प्राधिकरणले तिहार तथा छठमा विद्युतको सुरक्षित प्रयोग गर्न उपभोक्तालाई आग्रह गरेको छ । घरमा प्रयोग हुने विद्युतीय उपकरण र तारको अवस्था जाँच गर्न, गुणस्तरहीन सामग्री प्रयोग नगर्न तथा विद्युत् चुहावट वा तारमा समस्या देखिए आफैँ मर्मत नगरी दक्ष प्राविधिकबाट मात्र मर्मत गराउन प्राधिकरणले अनुरोध गरेको छ ।

विद्युत् आपूर्तिसम्बन्धी समस्या वा गुनासो भए नजिकको वितरण केन्द्र वा सम्बन्धित नो लाइट सेवामा सम्पर्क गर्नसमेत प्राधिकरणले उपभोक्तालाई आग्रह गरेको छ । 

Share News