पर्यटक भिसामा आएर अन्य क्रियाकलाप गरेको आरोपमा १० विदेशी निष्कासित

काठमाडौं । पर्यटक भिसामा नेपाल आएर भिसाको उद्देश्यविपरीत गतिविधि गरेको आरोपमा एक नाबालकसहित १० जना विदेशी नागरिकलाई नेपालबाट निष्कासन गरिएको छ ।

अध्यागमन विभागले उनीहरूलाई जनही ५० हजार रुपैयाँ जरिवाना गरी तीन वर्षसम्म नेपाल प्रवेश गर्न नपाउने गरी निष्कासन गर्ने निर्णय गरेको हो ।

विभागका अनुसार मोरङको कानेपोखरी गाउँपालिका–७, बरगाछीस्थित ‘मर्सी डेभलपमेन्ट’ नामक संस्थाले आयोजना गरेको कार्यक्रममा सहभागी हुन आएका उनीहरूले पर्यटक भिसाको सर्तविपरीत गतिविधि गरेका थिए । 

सोही कसुरमा उनीहरूलाई अध्यागमनसम्बन्धी कानुनअनुसार कारबाही गरिएको विभागले जनाएको छ ।

निष्कासित हुनेमा अमेरिकाका पाँच, ब्राजिलका दुई र क्यानडाका तीन जना नागरिक छन् । उनीहरूमध्ये एक जना नाबालकसमेत रहेका छन् ।

नाबालकलाई भने उनका आमाबुवासँगै नेपालबाट प्रस्थान गराउने निर्णय भएको विभागले जनाएको छ ।

Share News