काठमाडौं । नजिकिँदै गरेको तिहार पर्वलाई लक्षित गर्दै काठमाडौं महानगरपालिकाले आफ्नो क्षेत्रभित्र प्लास्टिकजन्य फूल, माला तथा सजावटका सामग्री बिक्री वितरणमा प्रतिबन्ध लगाएको छ ।
महानगरपालिकाले स्वदेशी फूल तथा मालाको प्रयोगलाई प्राथमिकता दिन आग्रह गर्दै व्यवसायी, व्यापारी तथा सर्वसाधारणलाई प्लास्टिकजन्य फूल र माला बिक्री वितरण नगर्न अनुरोध गरेको हो ।
महानगर प्रहरी बलले सूचना जारी गर्दै प्रतिबन्धको अवज्ञा गरी प्लास्टिकजन्य वा गुणस्तरहीन फूल, माला तथा सजावटका सामग्री बिक्री गरेको पाइएमा त्यस्ता सामग्री जफत गरिने चेतावनी दिएको छ ।
नेपाली किसानले उत्पादन गरेका फूल तथा मालाले उचित बजार पाऊन् र उपभोक्तालाई खरिद गर्न सहज होस् भन्ने उद्देश्यले महानगरले विभिन्न स्थानमा फूल बिक्रीका लागि व्यवस्था गरेको छ ।
महानगरले नयाँ बानेश्वरको एनबी सेन्टर र आईप्लेक्स मल, शंखमुलको बिग मार्ट, मध्य बानेश्वरको सेल्सबेरी, बत्तीसपुतलीको फिनिक्स टावर, तीनकुने चौर र सिफल चौरलाई फूल बिक्रीस्थल तोकेको छ ।
त्यस्तै, चाबहिल क्षेत्रमा एसी कम्प्लेक्स, गणेशस्थान तरकारी बजार र केएल टावर अगाडि फूल बिक्री गर्न पाइनेछ । कमलादीको आईटी बिल्डिङ, पुतलीसडकको स्टार मल, अनामनगरको भाटभटेनी, सुन्धाराको काठमाडौं मल र न्युप्लाजास्थित बज्र कम्प्लेक्स (गुड मार्ट) मा पनि बिक्री गर्न सकिनेछ ।
यसैगरी, स्वयम्भूको धर्मचक्र पार्क, कलंकीको भाटभटेनी, नयाँ बजारको भ्याली कोल्ड स्टोर, माछापोखरीको बुद्ध मल तथा गुणस्तर खाल्डोमा पनि फूल बिक्रीका लागि स्थान तोकिएको छ ।
त्यसैगरी, कालिमाटी ब्याङ्क्वेट र चौखेल, हाँडीगाउँको वडा नम्बर ५ कार्यालय अगाडिको डबली र गणेश मन्दिर डबली, सामाखुसीको कोइराला स्मार्ट, महाराजगञ्जको सेल्सबेरी, गोंगबु, चप्पल कारखाना र बालुवाटारको बिग मार्टमा पनि फूल बिक्री गर्न पाइने महानगरले जनाएको छ ।
टेबहाल मन्दिर परिसर, लगन, जैसिदेवल र भृकुटीमण्डपलाई समेत फूल बिक्रीस्थलका रूपमा तोकिएको छ ।
फूल बिक्री वितरणका लागि थप सहजीकरण आवश्यक परेमा व्यवसायी तथा सर्वसाधारणले काठमाडौं महानगर प्रहरी बलको कार्यालयमा सम्पर्क गर्न सक्ने महानगरले जनाएको छ ।