गोदावरी फूलको प्रदर्शनीमा चार दिनमै करिब १ करोडको कारोबार

ललितपुर । ललितपुरको जावलाखेलमा जारी १९औँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनीमा चार दिनमा ९९ लाख ९० हजार रुपैयाँको कारोबार भएको छ ।

फ्लोरिकल्चर एसोसिएसन नेपालको आयोजनामा कात्तिक १२ गतेदेखि सुरु भएको प्रदर्शनीको चौथो दिनसम्म ३१ हजारभन्दा बढीले अवलोकन गरेका छन् । प्रदर्शनीमा फूल तथा पुष्पजन्य सामग्रीको बिक्रीबाट उक्त कारोबार भएको आयोजकले जनाएको छ ।

प्रदर्शनीको सुरुवाती दिनमा अपेक्षाभन्दा राम्रो कारोबार भए पनि मौसम प्रतिकूल हुँदा शुक्रबार र शनिबारको अविरल वर्षाले मेला प्रभावित भएको थियो । लगातारको वर्षाका कारण मेला स्थल नै बन्द गर्नुपर्ने अवस्था आएपछि अवलोकनकर्ता तथा व्यवसायीले असुविधा भोग्नुपरेको थियो ।

अवलोकनकर्ता र व्यवसायीको अनुरोधपछि प्रदर्शनीको अवधि दुई दिन थप गरिएको फ्लोरिकल्चर एसोसिएसन नेपालले जनाएको छ । अब प्रदर्शनी कात्तिक १८ गतेसम्म सञ्चालन हुनेछ ।

प्रदर्शनीको पाँचौँ दिन नेपाल उद्योग वाणिज्य महासंघकी पूर्वअध्यक्ष भवानी राणाले पनि मेला अवलोकन गरेकी छन् । उनले प्रदर्शनीमा राखिएका विभिन्न प्रजातिका फूल तथा बिरुवा खरिदसमेत गरेकी थिइन् ।

प्रदर्शनीको अवधि थपिएसँगै आयोजकले इच्छुक सर्वसाधारणलाई कात्तिक १८ गते बुधबारसम्म जावलाखेल पुगेर विभिन्न प्रजातिका गोदावरी फूल तथा अन्य पुष्पजन्य सामग्रीको अवलोकन र खरिद गर्न आग्रह गरेको छ ।

Share News