काठमाडौं । उत्तर कोरियाले विश्वकै ठूलो क्रिप्टोकरेन्सी एक्सचेन्जमध्ये एक बाइनान्समा भएको ह्याकिङमा आफ्नो संलग्नता रहेको अमेरिकी आरोप अस्वीकार गरेको छ ।
उसले प्योङयाङलाई ह्याकिङसँग जोड्ने अमेरिकी आरोपलाई ‘गम्भीर राजनीतिक उक्साहट’ भन्दै विरोध गरेको छ ।
उत्तर कोरियाली सरकारी सञ्चारमाध्यमका अनुसार उत्तर कोरियाली नेता किम जोङ उनकी बहिनी किम यो जोङले मंगलबार अमेरिकी संघीय अनुसन्धान ब्युरो (एफबीआई) को आरोपको निन्दा गरेकी छन् ।

किम यो जोङ ।
एफबीआईले बाइनान्समा भएको ह्याकिङमा उत्तर कोरियासँग सम्बन्धित ह्याकर समूह ‘ट्रेडर ट्रेटर’ संलग्न रहेको दाबी गरेको थियो ।
उत्तर कोरियाली सरकारी समाचार संस्था केसीएनएका अनुसार किमले भनिन्, ‘एफबीआईले उत्तर कोरियालाई साइबर अपराध गर्ने राष्ट्रका रूपमा चित्रण गर्न खोजिरहेको छ । उसले उत्तर कोरियाको समर्थन प्राप्त ह्याकिङ समूह यस घटनामा संलग्न रहेको सूचना पाएको दाबी गरेको छ ।’
उनले विश्वभर हुने साइबर अपराधलाई उत्तर कोरियाको कामका रूपमा प्रस्तुत गरेर अमेरिकाले अन्तर्राष्ट्रिय जनमतलाई भ्रमित पार्न खोजेको आरोपसमेत लगाइन् ।
यसैबीच, बाइनान्सले मंगलबारदेखि थप क्रिप्टोकरेन्सीको कारोबार तथा निकासी सेवा क्रमशः सञ्चालनमा ल्याउने जनाएको छ । गत साता भएको ह्याकिङपछि अवरुद्ध सेवा चरणबद्ध रूपमा पुनः सञ्चालन गर्ने प्रक्रिया अघि बढाइएको कम्पनीले जनाएको छ ।
ह्याकिङबाट चोरी भएको अर्बौं डलर बराबरको क्रिप्टोकरेन्सी कहाँ पुगेको छ भन्ने पत्ता लगाउन ब्लकचेन विश्लेषण गर्ने कम्पनीहरू अनुसन्धानमा जुटेका छन् । चोरी भएको रकम विभिन्न ब्लकचेनमा रहेका हजारौं डिजिटल वालेटमार्फत स्थानान्तरण गरिएको पाइएको छ ।
ब्लकचेन विश्लेषण कम्पनी एलिप्टिक र चेनालाइसिसका अनुसार उत्तर कोरियासँग सम्बन्धित ह्याकरहरूले चोरीको रकम लुकाउन झन् जटिल प्रविधि प्रयोग गरिरहेका छन् ।
एलिप्टिकले सोमबार सार्वजनिक गरेको प्रतिवेदनअनुसार आक्रमण भएको पहिलो चार दिनमै ह्याकरहरूले ११ वटा ब्लकचेनमा करिब १२ हजार डिजिटल वालेट प्रयोग गरेका थिए । यस अवधिमा ४० हजारभन्दा बढी कारोबार गरिएको थियो ।
प्रतिवेदनले ह्याकरहरूको गतिविधि निकै जटिल र स्वचालित प्रकृतिको देखिएको उल्लेख गरेको छ । उनीहरूले औसतमा प्रत्येक २५ सेकेन्डमा एउटा नयाँ डिजिटल वालेट प्रयोग गरेका थिए ।
एलिप्टिकका अनुसार चोरी भएको रकम लुकाउने प्रारम्भिक गतिविधि अधिकांश ट्रोन ब्लकचेनमा भएको थियो । त्यहाँ करिब ७ हजार ७०० वटा डिजिटल ठेगानामा रकम बाँडेर राखिएको थियो ।
त्यसपछि क्रस–चेन ब्रिजमार्फत उक्त रकम इथेरियम ब्लकचेनमा सारिएको थियो । यस्तो माध्यम प्रयोग गरेर ट्रोनबाट कम्तीमा १४ करोड ७० लाख डलर अन्य ब्लकचेनमा स्थानान्तरण गरिएको थियो ।
ह्याकरहरूले चोरी भएका स्टेबलक्वाइनलाई विकेन्द्रीकृत क्रिप्टोकरेन्सी एक्सचेन्जमार्फत इथरलगायत जारीकर्ताले रोक्का गर्न नसक्ने क्रिप्टोकरेन्सीमा समेत रूपान्तरण गरेका थिए ।
एलिप्टिकका अनुसार टेथर र सर्कललगायत कम्पनीले बाँकी सम्पत्ति रोक्का गर्नुअघि करिब ७८ करोड ६० लाख डलर बराबरका स्टेबलक्वाइन अन्य क्रिप्टोकरेन्सीमा रूपान्तरण गरिएको थियो ।
त्यसपछि चोरीको रकम लुकाउने गतिविधि सोलानालगायत अन्य ब्लकचेनमा पनि विस्तार भएको छ । चेनालाइसिसका अनुसार उत्तर कोरियासँग सम्बन्धित समूहले ट्रोनमा रहेका मध्यस्थ डिजिटल वालेटमार्फत ५० करोड डलरभन्दा बढी रकम स्थानान्तरण गरेपछि चोरीको रकम लुकाउने अर्को चरण सुरु गरेको छ ।
एलिप्टिकले बिटक्वाइन मिक्सिङको प्रारम्भिक संकेतसमेत फेला पारेको छ । यो प्रविधिले कारोबारको वास्तविक स्रोत र गन्तव्य पत्ता लगाउन कठिन बनाउँछ ।
कम्पनीका अनुसार सोमबार बिहानसम्म करिब २२ लाख डलर बराबरका २८ बिटक्वाइन १८ वटा मिक्सिङ कारोबारमार्फत स्थानान्तरण गरिएको थियो ।
यति धेरै रकम विभिन्न डिजिटल वालेटमा स्थानान्तरण गरिए पनि चोरी भएको अधिकांश सम्पत्ति अझै पहिचान गर्न सकिने अवस्थामा रहेको विश्लेषण कम्पनीहरूले बताएका छन् ।
एलिप्टिकका अनुसार चोरी भएको कुल ६ अर्ब ४३ करोड डलरमध्ये करिब २ अर्ब ८५ करोड डलर अर्थात् ४४ प्रतिशत रकम रोक्का वा जफत गरिएको छ ।
बाँकी करिब ३ अर्ब २४ करोड डलर चोरीसँग सम्बन्धित डिजिटल ठेगानामै रहेको छ । उक्त रकमको ठूलो हिस्सा बिटक्वाइन र इथरमा रहेको छ ।
कम्पनीका अनुसार चोरी भएको रकममध्ये नगदमा रूपान्तरण भएको हिस्सा निकै न्यून छ । अधिकांश कारोबार एक क्रिप्टोकरेन्सीबाट अर्कोमा रूपान्तरण गर्ने वा विभिन्न डिजिटल वालेटमा स्थानान्तरण गर्ने प्रकृतिका छन् ।
एलिप्टिकले चोरीको रकम लुकाउने प्रक्रिया सन् २०२५ फेब्रुअरीमा भएको बाइबिट ह्याकिङपछिको तुलनामा सुस्त रहेको जनाएको छ । उक्त ह्याकिङमा उत्तर कोरियाली ह्याकरहरूले १० दिनभित्रै चोरी भएको सबै इथर स्थानान्तरण गरेका थिए ।
बाइनान्सबाट चोरी भएको बाँकी रकम पनि आगामी केही महिनामा क्रमशः बिटक्वाइनमा रूपान्तरण हुन सक्ने एलिप्टिकको अनुमान छ । त्यसपछि ओभर द काउन्टर (ओटीसी) ब्रोकर र क्रिप्टोकरेन्सी एक्सचेन्जमार्फत नगदमा रूपान्तरण गर्ने प्रयास हुन सक्ने कम्पनीले जनाएको छ ।
यसैबीच, बाइनान्सले ह्याकिङबाट प्रभावित कुल रकमको करिब ९५ प्रतिशत बराबरको सम्पत्ति व्यवस्थापन गरिसकेको जनाएको छ । बाँकी पाँच प्रतिशत हिस्सा कम कारोबार हुने अर्थात् तरलता कम भएका टोकनको रहेको र ती टोकन जुटाउन बढी समय लाग्ने कम्पनीको भनाइ छ ।
बाँकी सम्पत्ति जुटाउन विभिन्न क्रिप्टोकरेन्सी उद्योगका साझेदारहरूसँग सहकार्य गरिरहेको पनि बाइनान्सले जनाएको छ ।
इजरायलको चुनावी नतिजा र अबका चुनौती
चिनियाँ अर्बपतिहरूमा नागरिकता त्याग्नेको संख्या बढ्दै
एम्बाप्पेको अभिव्यक्तिले ला–लिगाको ४० करोड युरोको कारोबार जोखिममा
ब्राजिलमा लुलाको ऐतिहासिक जित, चौथो कार्यकाल अहिलेसम्मकै कठिन