काठमाडौं । युक्रेनको दक्षिणी क्षेत्र जापोरिजियास्थित कोमिशुभाखा गाउँमा रुसी सेनाले गरेको हवाई आक्रमणमा कम्तीमा २६ जनाको मृत्यु भएको छ ।
आक्रमणमा पाँच जना घाइते भएका छन् भने प्रारम्भिक विवरणअनुसार २७ जना बेपत्ता भएका थिए ।
रुसी सेनाले मानवीय सहायता सामग्री वितरण गर्ने केन्द्रलाई समेत निशाना बनाएको छ ।
युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले उक्त आक्रमणलाई ‘अत्यन्त भयावह’ घटना भनेका छन् ।
क्षेत्रीय प्रमुख मिखाइलो सेमिकिनका अनुसार गाउँमा कम्तीमा नौ वटा हवाई बम खसालिएका थिए । तीमध्ये प्रत्येक बमको तौल करिब तीन हजार किलोग्राम रहेको बताइएको छ ।
राष्ट्रपति जेलेन्स्कीका अनुसार रुसी सेनाले सुरुमा मानवीय सहायता वितरणको काम भइरहेको स्थानीय विद्यालयमा आक्रमण गरेको थियो । त्यसपछि मानिसहरू ज्यान जोगाउन आश्रय लिएर बसेको स्थानमा दोस्रो पटक आक्रमण गरिएको थियो ।
जेलेन्स्कीले सोमबार भएको आक्रमणको भिडियोसमेत सार्वजनिक गरेका छन् । भिडियोमा आक्रमणपछि बनेको ठूलो खाल्डो र भग्नावशेषमा मानिसहरूको खोजी गरिरहेका उद्धारकर्मी देखिन्छन् ।
यस आक्रमणबारे रुसी सेनाले भने अहिलेसम्म कुनै सार्वजनिक प्रतिक्रिया दिएको छैन ।