काठमाडौं । रुस र युक्रेनले आफ्ना आपत्कालीन चेतावनी प्रणालीमा साइबर हमला भएको दाबी गरेका छन् ।
ह्याकरहरूले दुवै देशका नागरिकलाई झुटा चेतावनी सन्देश पठाएपछि केही समयका लागि मानिसहरूमा त्रास फैलिएको थियो । ती सन्देशमा विकिरणको जोखिम र परमाणु हमला हुन सक्ने भन्दै चेतावनी दिइएको थियो ।
रुसको आपतकालीन मन्त्रालयले आफ्नो चेतावनी दिने एपमा ठूलो स्तरको साइबर हमला भएको जनाएको छ । मन्त्रालयका अनुसार उक्त हमलामार्फत ह्याकरहरूले गलत सूचना फैलाउन सक्ने अवस्था सिर्जना भएको थियो ।
यद्यपि, मन्त्रालयले देशको सार्वजनिक चेतावनी प्रणाली भने सामान्य रूपमा सञ्चालन भइरहेको स्पष्ट पारेको छ ।
यता, युक्रेनको हवाई हमलासम्बन्धी चेतावनी दिने एपमा पनि साइबर हमलापछि नक्कली चेतावनी सन्देश पठाइएको घटना सार्वजनिक भएको छ ।
युक्रेनको सेन्टर फर स्ट्राटेजिक कम्युनिकेसन्सले उक्त साइबर हमलाका लागि रुसलाई जिम्मेवार ठहर्याएको छ ।
संस्थाले सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै युक्रेनको हवाई हमला चेतावनी एपमा देखिएका केही नक्कली चेतावनी सन्देशका तस्बिरसमेत सार्वजनिक गरेको छ ।