काठमाडौं । जनकपुर बोल्ट्सले तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) टी-२० क्रिकेट प्रतियोगितामा दोस्रो जित दर्ता गरेको छ । त्रिवि क्रिकेट मैदानमा आइतबार भएको रोमाञ्चक खेलमा पोखरालाई ९ रनले पराजित गर्दै जनकपुरले आफ्नो दोस्रो जित निकालेको हो ।
यता पराजित पोखराले भने प्रतियोगितामा लगातार दोस्रो हार बेहोरेको छ । जनकपुरले जितका लागि दिएको १४८ रनको मध्यम लक्ष्य पछ्याएको पोखरा निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १३८ रनमा समेटियो ।
पोखराका लागि कप्तान कुशल भुर्तेलले २४ बलमा ५ चौका प्रहार गर्दै सर्वाधिक ३५ रनको योगदान दिए पनि टोलीलाई जित दिलाउन सकेनन् । त्यसैगरी विपिन आचार्यले २०, किरण ठगुन्नाले १५ तथा अविजित रहेका विपिन खत्रीले १७ रन बनाए ।
टोलीका अन्य ब्याटरहरू- दिनेश खरेल (३), महेदी हसन (८), शाकिब अल हसन (९), अर्जुन घर्ती (७), चमिका करुणारत्ने (४) र मोहम्मद सैफुद्दिन (०) सस्तैमा आउट भए भने प्रतिक पोखरेल २ रनमा अविजित रहे । पोखराको इनिङ्सलाई ध्वस्त पार्न जनकपुरका स्पिनरहरू हाबी भए ।
जनकपुरका मोइन अलीले उत्कृष्ट बलिङ गर्दै ३ विकेट लिए भने कप्तान हर्मीत सिंह र सैफ हसनले दुई/दुई विकेट हात पारे । साथै जिम्मी निशम र ललित राजवंशीको नाममा एक/एक विकेट रह्यो । यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको जनकपुरले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १४७ रन बनाएको थियो ।
जनकपुरका लागि ओपनर त्रितराज दासले ५५ बलमा ७ चौका र १ छक्काको मद्दतले सर्वाधिक ६१ रनको अर्धशतकीय इनिङ्स खेले । उनले पहिलो विकेटका लागि मोइन अलीसँग ४७ रनको महत्वपूर्ण साझेदारी गरेका थिए । मोइनले १६ बलमा २१ रन जोडे ।
यस्तै तल्लो क्रममा अभिषेक तिवारीले १० बलमा आक्रामक २४ रनको अविजित योगदान दिए । अन्य ब्याटरहरूमा जिम्मी निशमले ११, हर्मीत सिंह र अनिलकुमार शाहले समान ९–९ रन जोडे भने सैफ हसन (१) र अमरसिंह रौटेला (०) आउट भए ।
पोखराका लागि सबै विकेट विदेशी खेलाडीहरूले हात पारे। जसमध्ये बङ्गलादेशी स्टार शाकिब अल हसनले कसिलो बलिङ गर्दै ४ ओभरमा १५ रन मात्र खर्चेर सर्वाधिक ३ विकेट लिए । चमिका करुणारत्नेले २ विकेट तथा महेदी हसन र मोहम्मद सैफुद्दिनले एक/एक विकेट लिए ।
एनपीएलमा सोमबार २ खेल हुनेछ । दिनको पहिलो खेलमा काठमाडौँ गोखार्ज र कर्णाली याक्स खेल्नेछन् । सो खेल मध्यान्ह साढे १२ बजे सुरु हुनेछ । दिनको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्स र चितवन राइनोज खेल्ने तालिका छ। सो खेल साँझ ५ बजे सुरु हुनेछ ।