श्रेष्ठ दम्पत्तिलाई अदालतको २१ दिने म्याद, के हो कर्जा विवाद ?

काठमाडौं । तिसा बचत तथा ऋण सहकारी संस्था लिमिटेडले दायर गरेको कर्जा लेनदेनसम्बन्धी मुद्दामा काठमाडौं जिल्ला अदालतले शिवकुमार श्रेष्ठ र उनकी श्रीमती बिनु श्रेष्ठका नाममा २१ दिने म्याद जारी गरेको छ ।

अदालतको सूचनाअनुसार सहकारी संस्थाले श्रेष्ठसहितका प्रतिवादीविरुद्ध कर्जा लेनदेनसम्बन्धी मुद्दा दायर गरेको हो । उक्त मुद्दामा अदालतले गत असार २६ गते दिएको आदेशअनुसार प्रतिवादीका नाममा पत्रिकामार्फत म्याद सूचना प्रकाशित गरिएको हो ।

सूचनामा प्रकाशित भएको मितिले बाटोको म्यादबाहेक २१ दिनभित्र प्रतिउत्तरपत्रसहित अदालतमा उपस्थित हुन भनिएको छ । तोकिएको अवधिभित्र उपस्थित भए प्रतिवादीको व्यहोरा बुझी कानुनबमोजिम कारबाही अघि बढाइने सूचनामा उल्लेख छ ।

तोकिएको म्यादभित्र अदालतमा उपस्थित नभए कानुनबमोजिम हुने र पछि उजुर गर्न नपाइने पनि सूचनामा जनाइएको छ ।

अदालतको सूचनाअनुसार धादिङ जिल्लाको साविक निलकण्ठ गाविस-५ घर भई हाल काठमाडौं महानगरपालिका-१, गैरीधारामा बस्दै आएका ४५ वर्षीय शिवकुमार श्रेष्ठ र उनकी ३५ वर्षीया श्रीमती बिनु श्रेष्ठका नाममा म्याद जारी गरिएको हो ।

०८२-सीपी-०५०९ नम्बरको उक्त मुद्दामा तिसा बचत तथा ऋण सहकारी संस्था लिमिटेड वादी र शिवकुमार श्रेष्ठसमेत प्रतिवादी रहेका छन् ।

Share News