रेल चलाउन चालक खोज्दै सरकार

काठमाडौं । सरकारले रेल चालक (लोको पाइलट) सूचीकृत गर्न आवेदन माग गरेको छ । नेपालमा रेल सेवा सञ्चालनलाई थप व्यवस्थित र प्रभावकारी बनाउने उद्देश्यसहित नेपाल रेल्वे बोर्डले नेपाली नागरिकबाट रेल चालकको सूची तयार गर्न आवेदन आह्वान गरेको हो ।

बोर्डले दक्ष, योग्य, इमानदार र जिम्मेवार रेल चालक आवश्यक रहेको भन्दै इच्छुक नेपाली नागरिकलाई ३५ दिनभित्र आवश्यक कागजातसहित दरखास्त पेस गर्न आग्रह गरेको छ । बोर्डका अनुसार यो आवेदन नयाँ नियुक्तिका लागि नभई रेल चालकको सूची तयार गर्ने प्रयोजनका लागि माग गरिएको हो ।

रेल चालकका रूपमा सूचीकृत हुन इच्छुकले नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, शैक्षिक योग्यताको प्रमाणपत्र, मान्यताप्राप्त संस्थाबाट जारी रेल चालकको लाइसेन्सको प्रतिलिपि तथा अनुभव र तालिमसम्बन्धी प्रमाणपत्र पेस गर्नुपर्नेछ ।

बोर्डले आवेदन पेस गर्ने अन्तिम मिति मंसिर २१ गते तोकेको छ । इच्छुक नेपाली नागरिकले नेपाल रेल्वे बोर्डको केन्द्रीय कार्यालयमा दरखास्त पेस गर्न सक्नेछन् ।

Share News