काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसका कारण देशभर आंशिक बदली हुनुका साथै दार्चुला, बझाङ र हुम्लाका एक/दुई स्थानमा हल्का वर्षा र हिमपात भइरहेको छ ।
महाशाखाका अनुसार आज राति देशभर आंशिक बादल लाग्नेछ । यस क्रममा कोसी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू-भागका एक/दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।
साथै, तराई भू-भाग, उपत्यका तथा खोँचहरूमा बिहानीपख केही स्थानमा हुस्सु तथा कुहिरो लाग्ने पूर्वानुमान छ ।
त्यस्तै, सोमबार हिमाली र पहाडी भू-भागका साथै लुम्बिनी प्रदेशको तराई भू-भागका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।
मंगलबार भने कोसी प्रदेशका हिमाली तथा पहाडी भू-भागका एकाध ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना देखिएको छ ।
यसैगरी, बुधबार कोसी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू-भागमा हल्का वर्षा र हिमपात हुन सक्ने महाशाखाले जनाएको छ ।
आगामी बिहीबारसम्म नै देशका तराई भू-भाग, उपत्यका तथा खोँचहरूमा बिहानीपख हुस्सु र कुहिरो लाग्ने सम्भावना रहेकाले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।