काठमाडौं । आज आइतबार काठमाडौँको चन्द्रागिरिमा पञ्चेबाजाको तालमा दायाँ हातमा खुँडा, खुकुरी र तरवार अनि बायाँ हातमा ढाल बोकेर नाचिरहेका गुल्मेलीहरूले धुर्कोटको कोटको झल्को दिइरहेका छन् । उक्त सराय नाचले २७ वर्षअघि काठमाडौँको खुलामञ्चमा सुरु भएको गुल्मेली सांस्कृतिक प्रस्तुतिलाई फेरि जीवन्त बनाएको छ ।
प्रसिद्ध लोकगायक वमबहादुर कार्कीको पहलमा २०५६ सालको चैते दसैँमा काठमाडौँको खुलामञ्चमा गुल्मेली सराय नाच प्रस्तुत गरिएको थियो । त्यसको २७ वर्षपछि गुल्मेली समाज चन्द्रागिरिले पुनः सराय नाच प्रस्तुत गरेको छ । लामो अन्तरालपछि राजधानीमा देखिएको यो प्रस्तुतिले गुल्मेली समुदायको मौलिक संस्कृति र परम्परालाई नयाँ पुस्तासम्म पु¥याउने प्रयास गरेको छ ।
चन्द्रागिरिमा सहभागी गुल्मेलीहरूले दायाँ हातमा खुँडा वा खुकुरी र बायाँ हातमा ढाल बोकेर पञ्चेबाजाको तालमा सामूहिक नृत्य प्रस्तुत गरीरहदा अरुहरुले अचम्म मानेर हेरीरहेको स्थानिय दर्गा ज्ञवालीले जानकारी दिए । परम्परागत हतियारलाई लयबद्ध रूपमा चलाउँदै ताल मिलाएर नाच्ने शैली सरायको प्रमुख विशेषता भएको ज्ञवालीले जनाए । ज्ञवालीका अनुसार बाजाको गुञ्जन र नाचमा सहभागीहरूको उत्साहले गुल्मीका गाउँबस्तीमा दसैँका बेला देखिने सांस्कृतिक रौनकलाई राजधानीमा सम्झाएको छ ।

के हो सराय नाच ?
सराय लुम्विनी प्रदेशको पहाडी क्षेत्रमा प्रचलित परम्परागत सांस्कृतिक नाच हो । विशेषगरी गुल्मी, अर्घाखाँची, पाल्पा र प्युठानका विभिन्न स्थानमा दसैँका अवसरमा सराय नाच्ने चलन छ । कोटघर, मन्दिर तथा शक्तिपीठमा धार्मिक तथा सांस्कृतिक उत्सवका रूपमा प्रस्तुत गरिने सराय दसैँको टीकापछि कोजाग्रत पूर्णिमासम्म सञ्चालन हुने गर्छ ।
सरायमा सहभागीहरूले खुँडा, खुकुरी, तरबार वा ढालजस्ता परम्परागत हतियार प्रयोग गर्छन् । पञ्चेबाजा वा नौमती बाजाको तालमा नाचिने यसमा सहभागीहरू सामूहिक रूपमा घुम्दै नाच्ने चलन रहेको चन्द्राथिरीमा सराय नाचको समन्वय गरीरहेकी रन्जना भण्डारीले जानकारी दिइन् । उनका अनुसार हतियारलाई एकअर्कासँग जुधाउँदै युद्धको झल्को दिने शैलीमा नृत्य गरिन्छ। स्थानीय भाका, बाजाको ताल र नाच्ने शैलीले सरायलाई अन्य लोकनृत्यभन्दा फरक बनाउँने भण्डारीको वुझाइ रहेको छ ।

सरायको उत्पत्तिबारे विभिन्न किंवदन्ती प्रचलित छन् । कतिपयले देवीदेवताले दानवमाथि विजय प्राप्त गरेको उत्सवसँग यसको सम्बन्ध जोड्छन् । केहीले विगतका युद्ध र विजय उत्सवको परम्परासँग जोडेर व्याख्या गर्छन् । यद्यपि, यसको उत्पत्तिबारे एउटै निश्चित ऐतिहासिक विवरण स्थापित नभएको सस्कृति र सराय नाचका जानकार डा हरी प्रसाद भण्डारी बताउछन् ।
राजधानीमा मौलिक संस्कृति जोगाउने प्रयास
२०५६ सालको चैतेदसैँमा खुलामञ्चमा सराय नाच प्रस्तुत गर्नु राजधानीमा गुल्मेली लोकसंस्कृतिको पहिचान विस्तार गर्ने प्रयास थियो । त्यसबेला सुरु भएको सांस्कृतिक प्रस्तुतिले निरन्तरता पाउन नसके पनि अहिले चन्द्रागिरिमा पुनः सराय नाच प्रस्तुत हुनुले यसको संरक्षण र प्रवद्र्धनको सम्भावना देखाएको छ ।
बसाइँसराइका कारण आफ्नो जन्मथलोबाट टाढा पुगेका समुदायका लागि मौलिक संस्कृति जोगाउनु चुनौतीपूर्ण बन्दै गएको समयमा गुल्मी चन्द्रागिरी समाजले सराय नाचको आयोजना गरेको छ । नयाँ पुस्तालाई परम्परागत नाच, बाजा र स्थानीय सांस्कृतिक अभ्यासबारे जानकारी गराउन पनि यस्ता कार्यक्रम उपयोगी हुने चार्टर एकाउन्टेन्ट समेत रहेका ज्ञवालीले जानकारी दिए ।

ज्ञवालीका अनुसार सराय मनोरञ्जनका लागि गरिने नृत्य मात्र होइन, स्थानीय इतिहास, धार्मिक आस्था र सामूहिक पहिचानसँग जोडिएको सांस्कृतिक सम्पदा पनि हो । पुस्तौँदेखि हस्तान्तरण हुँदै आएको यो परम्पराले समुदायका सदस्यलाई एकै ठाउँमा जोड्नुका साथै पुर्खाको संस्कृतिसँग सम्बन्ध कायम राख्न सहयोग गर्ने ज्ञवालीको बुझाई रहेको छ ।
२०५६ र २०५७ सालमा खुलामञ्चमा प्रस्तुत गरिएको सरायलाई २७ वर्षपछि चन्द्रागिरिमा पुनः प्रस्तुत गरिनुले राजधानीमा गुल्मेली संस्कृति संरक्षणको प्रयासलाई फेरि अघि बढाएको छ । यस्ता प्रस्तुतिलाई नियमितता दिन सके गुल्मीको मौलिक सांस्कृतिक सम्पदाको परिचय राजधानीमा विस्तार हुनुका साथै नयाँ पुस्ताले पनि आफ्नो परम्परा नजिकबाट बुझ्ने अवसर पाउनेछ ।