काठमाडौं । चाडपर्व केन्द्रित ‘प्रोएक्टिभ पोलिसिङ’ तथा आधुनिक प्रविधिको सघन उपयोगका कारण यस वर्षको बडादसैँ अवधिमा देशभरको शान्ति सुरक्षा सुदृढ रहेको र ठूला आपराधिक घटनाहरू नियन्त्रणमा आएको नेपाल प्रहरीले जनाएको छ ।
नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायव महानिरीक्षक (डिआइजी) अविनारायण काफ्लेले सिन्धुलीको सुनकोशी नदीमा भएको एउटा यात्रुवाहक सुमो दुर्घटनाबाहेक यस अवधिमा ठूलो जनधनको क्षति हुनेगरी अन्य गम्भीर घटना नभएको स्पष्ट पारेका हुन् ।
सुनकोशी दुर्घटनामा तीन जनाको मृत्यु, तीन जना बेपत्ता र चार जना घाइते भएको विवरण दिँदै उनले त्यसबाहेक देशभर समग्र सडक सुरक्षा सन्तोषजनक रहेको बताए। प्रवक्ता काफ्लेकाअनुसार चाडपर्वलाई सुरक्षित र मर्यादित बनाउन सिसीटिभी, ड्रोन, तालिमप्राप्त कुकुर, सादा पोशाकका टोली र द्रुत कार्य टोली (क्युआरटी) परिचालन गरिएको छ । राजमार्गहरूमा आकस्मिक अवरोध आउन नदिन नागढुङ्गा, गजुरी, मुग्लिङ र हेटौँडाजस्ता संवेदनशील खण्डहरूमा हेभी इक्युपमेन्ट र प्राविधिक जनशक्तिसहित २४ सै घण्टा प्रहरी टोली तैनाथ गरिएको छ । यातायात व्यवसायीहरूसँगको समन्वयका कारण सिट क्षमताभन्दा बढी यात्रु चढाउने र टिकटमा कालोबजारी गर्ने प्रवृत्तिमा यसपटक उल्लेख्य कमी आएको प्रहरीको भनाइ छ । त्यस्तै, समुदाय–प्रहरी साझेदारी र सचेतनामूलक अभियानका कारण चाडपर्वमा घर बन्द गरेर हिँड्दा हुने चोरी तथा लुटपाटका घटनामा पनि उल्लेख्य गिरावट आएको जनाइएको छ ।
उनले भने, ‘हालसम्म सुनकोशीमा एउटा यात्रुवाहक सुमो दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन जना बेपत्ता र चार जना घाइते भएको घटना बाहेक ठूलो क्षति हुने अन्य दुर्घटनाको रिपोर्ट प्राप्त भएको छैन । नेपाल प्रहरीले यस वर्षको दशैँ सुरक्षा योजनाअन्तर्गत प्रविधिमैत्री र सक्रिय प्रहरी परिचालनमा जोड दिएको छ । सीसीटीभी, ड्रोन, तालिमप्राप्त कुकुर, सादा पोशाकका प्रहरी तथा क्विक रेस्पोन्स टिम परिचालन गरी राजमार्ग र भीडभाड हुने क्षेत्रमा सुरक्षा निगरानी बढाइएको छ । नागढुङ्गा, गजुरी, मुग्लिङ र हेटौँडालगायत स्थानमा सम्भावित सडक अवरोध हटाउन आवश्यक जनशक्ति र उपकरणसहित प्रहरी परिचालन गरिएको छ । चोरी, लुटपाट, ठगी तथा यात्रु ठगिने घटना नियन्त्रण गर्न सामुदायिक प्रहरी साझेदारी र जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिएका छन् । महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा लैङ्गिक र यौनिक अल्पसङ्ख्यक नागरिकको सुरक्षामा पनि विशेष ध्यान दिइएको छ ।’
प्रहरीले घर खाली गरेर यात्रामा निस्कने नागरिकलाई बहुमूल्य गरगहना र नगद बैंक लकरमा राख्न तथा आफू यात्रामा रहेको सूचना सामाजिक सञ्जालमा सार्वजनिक नगर्न आग्रह गरेको छ । साथै, मादक तथा लागूपदार्थ सेवन गरी सवारी नचलाउन, दुई पाङ्ग्रे सवारीमा अनिवार्य हेल्मेटको फित्ता बाँध्न, जुवातास नखेल्न र सीमावर्ती क्षेत्रमा हुने अवैध ओसारपसारविरुद्ध १०० नम्बरमा गोप्य सूचना दिन समेत प्रहरीले अनुरोध गरेको छ ।