डा. आनन्द जिसी
दशैं-तिहार हाम्रो सबैभन्दा ठूलो चाडपर्व हो । यो समयमा परिवार र आफन्तसँग भेटघाट गर्ने, मिठोमसिनो खाने र रमाइलो गर्ने गरिन्छ ।
तर, चाडपर्वको रमाइलोमा आफ्नो स्वास्थ्यलाई भने बिर्सनु हुँदैन । विशेषगरी मुटुरोग भएका व्यक्तिले खानपान, औषधि सेवन, निद्रा, व्यायाम र जीवनशैलीमा ध्यान दिनुपर्छ ।
मुटुको रोग लाग्दैमा जीवनभर खानपानमा प्रतिबन्ध लगाएर बस्नुपर्छ भन्ने होइन । समयमै उपचार र नियमित औषधि सेवनबाट धेरै बिरामीको अवस्था स्थिर राख्न सकिन्छ ।
त्यसैले मुटुरोगीले पनि आफ्नो स्वास्थ्य अवस्थाअनुसार सावधानी अपनाएर परिवारसँग चाडपर्वको आनन्द लिन सक्छन् । तर, त्यसका लागि केही कुरामा विशेष ध्यान दिन आवश्यक छ ।
१.औषधि नियमित सेवन
दशैंमा एक ठाउँबाट अर्को ठाउँमा जाने, आफन्तकोमा बस्ने र रातिसम्म रमाइलो गर्ने क्रम चल्छ ।
यस्तो अवस्थामा मुटुरोगीले औषधि सेवन गर्न बिर्सनु हुँदैन । चिकित्सकको सल्लाहअनुसार नियमित औषधि खानुपर्छ ।
विशेषगरी एन्जियोप्लास्टी गरेर मुटुको रक्तनलीमा स्टेन्ट राखेका बिरामीले चिकित्सकको सल्लाहबिना औषधि बन्द गर्नु हुँदैन । स्टेन्ट राखेका, हृदयाघात भइसकेका वा मुटुको चालमा गडबडी भएका बिरामीले आफ्नो उपचारलाई निरन्तरता दिनुपर्छ । चाडपर्वका कारण औषधि छुटाउने वा आफूखुसी मात्रा परिवर्तन गर्ने गर्नु हुँदैन ।
२. खानपानमा सन्तुलन मिलाउनुपर्छ
दशैंमा मासुका परिकार बढी खाने चलन छ । खसी, बोका र राँगाको मासुमा चिल्लो पदार्थ बढी हुने भएकाले यस्ता परिकार खाँदा मात्रा मिलाउनुपर्छ । मासु खानै हुँदैन भन्ने होइन, तर चिल्लो कम भएको र कम मात्रामा खानु उपयुक्त हुन्छ ।
माछा तथा कुखुराको मासु पनि खान सकिन्छ । कुखुराको मासु खाँदा छाला हटाएर खानु राम्रो हुन्छ । मासु पकाउँदा तेल र नुनको मात्रा पनि ध्यान दिनुपर्छ ।
मुटुरोगीले खानपानमा सन्तुलन मिलाउन सकेमा आफूलाई मन पर्ने परिकारबाट पूर्ण रूपमा टाढा बस्नुपर्ने अवस्था हुँदैन ।
दशैंमा मासुका साथै तारेका परिकार, चिल्लो खानेकुरा र बाहिरबाट ल्याइएका जंक फुड खाने चलन पनि छ । विशेषगरी मदिरासँगै यस्ता खानेकुरा खाने गरिन्छ । त्यसैले तारेका र बढी चिल्लो भएका परिकार सकेसम्म कम खानुपर्छ ।
पहाडी क्षेत्रमा सेलरोटी, गुलियो तथा चिल्लो खानेकुरा बढी खाने चलन छ। यस्ता परिकार पनि खानै नहुने होइन, तर मात्रा मिलाएर खानुपर्छ। मधुमेह भएका व्यक्तिले गुलियो खानेकुरामा विशेष ध्यान दिनुपर्छ ।
मधुमेहका बिरामीलाई हामीले नियमित रूपमा खानपान व्यवस्थापन गर्न सिकाइरहेका हुन्छौँ । त्यसैले चाडपर्वमा पनि आफूले अपनाउँदै आएको खानपानसम्बन्धी सल्लाहलाई निरन्तरता दिनुपर्छ ।
त्यस्तै, नुनको मात्रा पनि नियन्त्रणमा राख्नुपर्छ । मासु तथा अन्य परिकारमा बढी नुन प्रयोग गर्ने बानीले रक्तचाप नियन्त्रणमा समस्या ल्याउन सक्छ । विशेषगरी उच्च रक्तचाप भएका व्यक्तिले नुनको मात्रा मिलाउनुपर्छ ।
३.मदिरा र धूम्रपानबाट टाढा रहने
दशैंमा साथीभाइसँग भेटघाट गर्दा मदिरा सेवन गर्ने र त्यससँगै विभिन्न परिकार खाने चलन हुन्छ । तर, मुटुरोग भएका व्यक्तिले मदिरा सेवन नगर्नु नै उचित हुन्छ । विशेषगरी स्टेन्ट राखेका, हृदयाघात भएका वा मुटुको चालमा गडबडी भएका बिरामीले मदिराबाट टाढा रहनुपर्छ ।
मदिरासँगै खाने तारेका परिकार र अन्य चिल्लोयुक्त खानेकुराले पनि स्वास्थ्यमा असर पार्न सक्छन् । त्यसैले यस्ता खानेकुराको सेवन कम गर्नुपर्छ ।
धूमपान पनि मुटुको स्वास्थ्यका लागि हानिकारक छ । सामान्य अवस्थामा पनि धूमपान नगर्नु नै राम्रो हो । तर, चाडपर्वमा साथीभाइको लहलहैमा लागेर पहिलेभन्दा बढी धूमपान गर्ने प्रवृत्तिबाट विशेष रूपमा बच्नुपर्छ ।
४.पर्याप्त निद्रा लिने
दशैंमा रातिसम्म तास खेल्ने, गफ गर्ने र रमाइलो गर्ने चलन हुन्छ । यसले गर्दा नियमित निद्रामा असर पर्न सक्छ ।
मुटुरोगीले आफ्नो स्वास्थ्यलाई ध्यानमा राखेर पर्याप्त आराम गर्नुपर्छ। सामान्यतया वयस्कले रातमा सातदेखि नौ घण्टा निद्रा लिनु उपयुक्त हुन्छ । पर्याप्त निद्रा र आरामले शरीरलाई स्वस्थ राख्न मद्दत गर्छ ।
त्यसैगरी, नियमित व्यायाम गर्ने बानीलाई पनि चाडपर्वमा निरन्तरता दिनुपर्छ । दशैं आयो भन्दैमा हिँडडुल र शारीरिक गतिविधि पूर्ण रूपमा बन्द गर्नु हुँदैन । आफ्नो स्वास्थ्य अवस्थाअनुसार हिँड्ने तथा अन्य उपयुक्त शारीरिक गतिविधि गर्न सकिन्छ ।
५.तनाव नलिई आफ्नो क्षमताअनुसार चाडपर्व मनाउने
दशैंमा सबैको आर्थिक अवस्था समान हुँदैन । कसैको आर्थिक अवस्था राम्रो होला, कसैको नहोला । अरूले जस्तै खर्च गर्नुपर्छ, अरूले जस्तै खानुपर्छ वा सबै गतिविधिमा सहभागी हुनुपर्छ भन्ने सोचले अनावश्यक तनाव बढाउन सक्छ ।
त्यसैले आफ्नो आर्थिक अवस्था र स्वास्थ्यअनुसार चाडपर्व मनाउनुपर्छ । अरूको देखासिकी गरेर तनाव लिनुभन्दा आफूसँग जे छ, त्यसैमा रमाउन सक्नुपर्छ । तनावले पनि मुटुको स्वास्थ्यमा नकारात्मक असर पार्न सक्छ । त्यसैले चाडपर्वलाई रमाइलो र सन्तुलित बनाउनु आवश्यक छ ।
६.मुटुको पम्प गर्ने क्षमता कम भएका बिरामीले थप सावधानी अपनाउने
सबै मुटुरोगीको अवस्था एउटै हुँदैन । कसैको रक्तचापको समस्या हुन्छ, कसैलाई मधुमेह हुन्छ भने कसैको मुटुको पम्प गर्ने क्षमता कम भएको हुन्छ । त्यसैले सबैलाई एउटै प्रकारको खानपान र जीवनशैली लागू हुँदैन ।
मुटुको पम्प गर्ने क्षमता निकै कम भएका बिरामीले चिकित्सकको सल्लाहअनुसार झोल पदार्थको मात्रा नियन्त्रण गर्नुपर्ने हुन सक्छ । उनीहरूले पिसाबको मात्रा, खुट्टा सुन्निएको अवस्था र सास फेर्न गाह्रो भए/नभएको कुरामा ध्यान दिनुपर्छ । खुट्टा सुन्निने, पिसाब कम हुने वा सास फेर्न समस्या बढ्ने लक्षण देखिएमा तत्काल चिकित्सकसँग सम्पर्क गर्नुपर्छ ।
उच्च रक्तचाप भएका बिरामीले रक्तचाप नियन्त्रणमा छ कि छैन भन्ने कुरामा ध्यान दिनुपर्छ । मधुमेह भएका व्यक्तिले रगतमा चिनीको मात्रा नियन्त्रणमा राख्नुपर्छ । मुटुरोगीले आफ्नो रोगअनुसार चिकित्सकले दिएको सल्लाह पालना गर्नु महत्त्वपूर्ण हुन्छ ।
७. छाती दुखेको छ भने ग्यास्ट्रिक भनेर बेवास्ता नगर्ने
चाडपर्वका बेला खानपानमा परिवर्तन आउने, पर्याप्त नसुत्ने, मदिरा सेवन गर्ने र नियमित व्यायाम छुट्ने हुन सक्छ ।
यस्ता कारणले मुटुको स्वास्थ्यमा असर पर्न सक्छ । त्यसैले छाती दुख्ने वा सास फेर्न गाह्रो हुनेजस्ता लक्षण देखिएमा ग्यास्ट्रिक होला भनेर घरमै बस्नु हुँदैन ।
यस्ता लक्षण मुटुसम्बन्धी समस्याका कारण पनि हुन सक्छन् । छाती दुख्ने, सास फेर्न गाह्रो हुने वा अन्य गम्भीर लक्षण देखिएमा तुरुन्तै अस्पताल पुगेर जाँच गराउनुपर्छ । समयमै समस्या पहिचान गर्न सकेमा उपचारमा सहज हुन सक्छ ।
८.दशैं-तिहारपछि चिसो बढ्दा पनि मुटुको स्वास्थ्यमा ध्यान दिने
दशैं-तिहारपछि क्रमशः चिसो बढ्दै जान्छ । चिसो मौसममा मुटुसम्बन्धी समस्या बढेको देखिन सक्छ । चिसोका कारण रक्तचाप बढ्न सक्ने तथा मधुमेह र कोलेस्ट्रोल नियन्त्रणमा समस्या हुन सक्ने भएकाले मुटुरोगीले आफ्नो स्वास्थ्यप्रति थप सचेत रहनुपर्छ ।
चाडपर्वका बेला खानपान, मदिरा सेवन, धूम्रपान र निद्रामा लापरबाही गर्ने तथा नियमित शारीरिक गतिविधि नगर्ने बानीले पनि जोखिम बढाउन सक्छ । यस्ता कारणले चाडपर्वको समयमा वा त्यसपछि मुटुसम्बन्धी समस्या देखिन सक्ने भएकाले जीवनशैलीमा ध्यान दिनुपर्छ ।
मुटुरोग भएका व्यक्तिले आफू बिरामी छु भन्दैमा चाडपर्वको रमाइलोबाट टाढा बस्नुपर्दैन । तर, आफ्नो रोगको अवस्था बुझेर खानपान र गतिविधिमा सन्तुलन मिलाउनुपर्छ ।
नियमित औषधि सेवन, चिकित्सकको सल्लाहअनुसारको खानपान, पर्याप्त निद्रा, व्यायाम र तनाव व्यवस्थापनमा ध्यान दिन सकेमा परिवारसँगै स्वस्थ रूपमा चाडपर्व मनाउन सकिन्छ ।