काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा करारमा कार्यरत कर्मचारी दशैं पेस्की नपाएपछि असन्तुष्ट बनेका छन् । चाडपर्वका बेला स्थायी कर्मचारीले सुविधा पाउने तर करारका कर्मचारी वञ्चित हुने अवस्थाले आफूहरूमाथि विभेद भएको उनीहरूको गुनासो छ ।
मन्त्रालयको दैनिक प्रशासनिक कामकाजदेखि स्वास्थ्य सेवा प्रवाहसँग सम्बन्धित विभिन्न जिम्मेवारीमा खटिँदै आएका करारका कर्मचारीले पेस्की नपाएका हुन् । कार्यालयको कामकाज सञ्चालनमा योगदान पुर्याउँदै आए पनि चाडपर्वका बेला सुविधा नपाउँदा निराश बनेको उनीहरूले बताएका छन् ।
दैनिक काम र जिम्मेवारी निर्वाहमा करारका कर्मचारीको भूमिका महत्त्वपूर्ण भए पनि सुविधाका विषयमा भने बेवास्ता गरिएको उनीहरूको गुनासो छ । दशैंजस्तो महत्त्वपूर्ण चाडमा घरपरिवारका लागि आवश्यक खर्च व्यवस्थापन गर्नुपर्ने अवस्थामा पेस्कीसमेत नपाउँदा आर्थिक भार थपिएको उनीहरूको भनाइ छ ।
करारमा कार्यरत कर्मचारीले पनि नियमित रूपमा कार्यालयको जिम्मेवारी पूरा गर्दै आएको अवस्थामा चाडपर्वका सुविधामा विभेद गर्न नहुने उनीहरूको माग छ । कर्मचारीको योगदान र जिम्मेवारीलाई ध्यानमा राख्दै सम्बन्धित निकायले यस विषयमा आवश्यक पहल गर्नुपर्ने उनीहरूले बताएका छन् ।
मन्त्रालयका सहप्रवक्ता डा. समीर अधिकारीका अनुसार नियमअनुसार सुविधा पाउने अवस्था परिपक्व नभएकाले करारका कर्मचारीले उक्त सुविधा नपाएका हुन् । उनले सबै कर्मचारीको करार नवीकरण नभएकाले उनीहरू उक्त सुविधाबाट वञ्चित भएको बताए ।
'करार नवीकरण भएपछि कानुनअनुसार पाउने सुविधा उहाँहरूले पाउनुहुन्छ,' उनले भने ।