काठमाडौं । यस वर्षको दशैंमा काठमाडौं उपत्यकामा खसीको मासु अघिल्लो वर्षको तुलनामा निकै महँगो भएको छ।
गत वर्षको दशैंमा खसीको मासु प्रतिकिलो १ हजार ३०० देखि १ हजार ४०० रुपैयाँमा बिक्री भएकोमा यस वर्ष मूल्य बढेर १ हजार ७०० देखि १ हजार ८५० रुपैयाँसम्म पुगेको छ। दसैँको मुखमा बजारमा खसीको मूल्य बढे पनि किसानले भने सोचेअनुसारको मूल्य पाउन नसकेको गुनासो गरेका छन्।
खसी व्यापारीहरूले आपूर्ति घट्नु, ढुवानी तथा दानाको लागत बढ्नु र बाढीपहिरोपछि ग्रामीण क्षेत्रबाट खसीबोका ल्याउन कठिन हुनुलाई मूल्यवृद्धिको कारण मानेका छन्।
काभ्रेबाट खसीबोका बिक्री गर्न आएका किसान बैनसिंह मोक्तानले खसी बिक्री गर्न समस्या नभए पनि सोचेअनुसारको मूल्य पाउन नसकेको गुनासो गरे। २५० वटा खसी ल्याएका मोक्तानले २१० वटा बिक्री गरिसकेका छन्। उनले खसीको तौलअनुसार प्रतिकिलो ७०० देखि ९०० रुपैयाँसम्ममा बिक्री गरिरहेको बताए।
उनले भने, ‘मैले यो पालि २५० वटा खसी ल्याएको थिएँ। बिक्री गरिरहेको छु। अब ४० वटा बाँकी छन्। दिउँसो २–३ बजेसम्म यी सबै बिक्री हुन्छन्। साना खसी एउटा परिवारले खानका लागि लैजान्छन् भने ठूला खसी दुई–तीन परिवार मिलेर पनि किन्छन्। तर पोहोरको तुलनामा यस वर्ष खसीको मासुको भाउ महँगो नै छ। सबैभन्दा सस्तो खसीको मूल्य प्रतिकिलो ७५० रुपैयाँ पर्छ। त्योभन्दा मुनि आउँदैन। बाढीका कारण नाका बन्द हुनु र पश्चिम एसियाको द्वन्द्वका कारण पनि मूल्य महँगिएको हुनुपर्छ।’
किसानले उचित मूल्य नपाएको गुनासो गरिरहेका बेला उपभोक्ताले भने मासु पसलबाट प्रतिकिलो १ हजार ७०० देखि १ हजार ८५० रुपैयाँसम्म तिरेर मासु किन्नुपरेको छ। मासु उपभोक्ता अमृत तिवारीले जिउँदो खसी प्रतिकिलो ९०० देखि १ हजार रुपैयाँ र तयारी मासु प्रतिकिलो १ हजार ८०० देखि २ हजार रुपैयाँसम्ममा किन्नुपरेको बताए।
उनले भने, ‘यो वर्ष खसीको मासु अलिकति महँगो छ। यसपटक भारतीय खसी नभित्रिएका कारणले पनि मासुको मूल्य बढेको हुन सक्छ। हामीले जिउँदो खसी प्रतिकिलो ९०० रुपैयाँमा किनिरहेका छौँ। तयारी मासुका लागि २ हजार रुपैयाँसम्म तिर्नुपर्ने अवस्था छ।’
दशैंको दुई सातामा उपत्यकामा मात्रै ३ अर्ब रुपैयाँभन्दा बढी मूल्यका जिउँदा खसीबोका बिक्री हुने अनुमान गरिएको छ।