हाईलाइफले ३५० भन्दा बढीलाई दियो रोजगारी, नेपाली उत्पादन विदेशमा विस्तार

काठमाडौं । हाइलाइफ एग्रो एण्ड फुड्स इण्डष्ट्रिज लिमिटेडले नेपाली खाद्य उत्पादनको बजार अमेरिका, युरोप, अस्ट्रेलिया र जापानसम्म विस्तार गरेको छ । कम्पनीले दक्षिण कोरिया र संयुक्त अरब इमिरेट्स (यूएई) लगायतका मुलुकमा समेत आफ्ना उत्पादन पुर्याउँदै अन्तर्राष्ट्रिय बजार विस्तारलाई प्राथमिकता दिएको छ ।

कम्पनीको ११औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । साधारणसभामा अध्यक्ष अम्बिकाप्रसाद पौडेलले प्रस्तुत गरेको प्रतिवेदनअनुसार प्रतिकूल व्यावसायिक वातावरणका बाबजुद कम्पनीले आफ्नो बजार पहुँच कायम राख्दै दीर्घकालीन व्यावसायिक आधार बलियो बनाउने प्रयास गरेको छ । कम्पनीले ३५० भन्दा बढीलाई प्रत्यक्ष रोजगारीसमेत दिएको छ ।

अध्यक्ष पौडेलले ‘जहाँ नेपाली त्यहाँ नेपाली उत्पादन’ भन्ने नारासहित नेपाली उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा स्थापित गर्ने प्रयासले सकारात्मक गति लिएको बताए । उनका अनुसार निर्यातले कम्पनीको बजार विस्तार गर्नुका साथै विदेशी मुद्रा आर्जनमार्फत राष्ट्रिय अर्थतन्त्रमा योगदान पुर्याउँछ । यसले एउटै बजारमाथिको निर्भरता घटाउनसमेत सहयोग गर्छ ।

काठमाडौंको बुढानीलकण्ठस्थित होटल लेमन ट्री प्रिमियरमा सम्पन्न साधारणसभामा कम्पनीको आर्थिक वर्ष २०८२/८३ को कार्यसम्पादन, वित्तीय अवस्था र आगामी व्यावसायिक रणनीतिबारे छलफल भएको थियो ।

अध्यक्ष पौडेलले आर्थिक वर्ष २०८२/८३ मुलुक र विश्व अर्थतन्त्रका लागि उतारचढावपूर्ण रहेको उल्लेख गरे । भदौमा भएको जेनजी आन्दोलनले देशको सामाजिक, राजनीतिक तथा आर्थिक वातावरणमा प्रभाव पारेको र अन्तर्राष्ट्रिय स्तरमा बढेको भूराजनीतिक तनाव, विशेषगरी मध्यपूर्वको द्वन्द्वले ऊर्जा, ढुवानी, कच्चा पदार्थ र खाद्य आपूर्ति शृङ्खलामा दबाब सिर्जना गरेको उनको भनाइ छ । 

कम्पनीले स्वदेशी बजारमा स्थापित ‘हाईलाइफ’ ब्रान्डको पहिचानलाई अन्तर्राष्ट्रिय बजारसम्म पुर्याउने लक्ष्य लिएको छ । अमेरिका, जापान, अस्ट्रेलिया, युरोप, दक्षिण कोरिया र यूएईलगायतका बजारमा उत्पादन पुर्याउनुलाई कम्पनीले बजार विस्तारको महत्त्वपूर्ण उपलब्धिका रूपमा लिएको छ । 

Share News