भिभो वाई३२ नेपाली बजारमा, ५२ हजार ९९९ रुपैयाँसम्मका तीन भेरियन्ट

काठमाडौं । स्मार्टफोन ब्रान्ड भिभोले ८,००० एमएएच क्षमताको ब्याट्रीसहित नयाँ स्मार्टफोन भिभो वाई३२ नेपाली बजारमा सार्वजनिक गरेको छ । दैनिक रूपमा लामो समय स्मार्टफोन प्रयोग गर्ने युवा पेसाकर्मी, फिल्डमा काम गर्ने कर्मचारी तथा काम र व्यक्तिगत प्रयोजनका लागि भरपर्दो फोन खोज्ने प्रयोगकर्तालाई लक्षित गरी यो स्मार्टफोन ल्याइएको कम्पनीले जनाएको छ ।

वाई सिरिजअन्तर्गत सार्वजनिक गरिएको यस फोनमा ४४ वाट फ्ल्यासचार्ज, आईपी६८ तथा आईपी६९ डस्ट एन्ड वाटर रेजिस्टेन्स र एन्टी–ड्रप आर्मर डिजाइनलगायतका सुविधा समावेश छन् ।

भिभो वाई३२ को मुख्य विशेषता यसको ८,००० एमएएच क्षमताको ब्याट्री हो । कम्पनीका अनुसार फोनमा रहेको ६ वर्षे ब्याट्री हेल्थ प्रविधिले १ हजार ५०० पटक पूर्ण चार्ज गरेपछि पनि ब्याट्रीको क्षमता कम्तीमा ८० प्रतिशत कायम राख्न मद्दत गर्छ । ब्याट्रीको प्रयोग र चार्जिङलाई व्यवस्थित गर्न फोनमा स्मार्ट चार्जिङ इन्जिन तथा रातभर चार्ज गर्दा ब्याट्रीलाई सुरक्षित राख्न ओभरनाइट चार्जिङ प्रोटेक्सन सुविधा दिइएको छ । त्यस्तै, ४४ वाट फ्ल्यासचार्ज प्रविधिले कम समयमा ब्याट्री चार्ज गर्न सहयोग गर्ने कम्पनीले जनाएको छ ।

डिजाइनतर्फ भिभो वाई३२ मा प्रिमियम मेटालिक क्यामेरा डिजाइन र डायनामिक लाइट उपलब्ध छन् । डायनामिक लाइटले फोनमा आउने कल, सन्देश तथा अन्य सूचनाका लागि प्रकाशमार्फत संकेत दिन्छ । यसका साथै आईपी६८ तथा आईपी६९ डस्ट एन्ड वाटर रेजिस्टेन्सले धुलो र पानीबाट सुरक्षा प्रदान गर्ने तथा एन्टी–ड्रप आर्मर डिजाइनले दैनिक प्रयोगका क्रममा हुन सक्ने ठक्कर र आकस्मिक खसाइबाट फोनलाई थप सुरक्षा दिने कम्पनीको दाबी छ ।

भिभो वाई३२ नेपाली बजारमा तीन भेरियन्टमा उपलब्ध छ । ४ जीबी र्याम र १२८ जीबी स्टोरेज भएको भेरियन्टको मूल्य ३९ हजार ९९९ रुपैयाँ, ६ जीबी र्याम र १२८ जीबी स्टोरेजको मूल्य ४५ हजार ९९९ रुपैयाँ तथा ६ जीबी र्याम र २५६ जीबी स्टोरेज भएको भेरियन्टको मूल्य ५२ हजार ९९९ रुपैयाँ तोकिएको छ । फोन देशभरका आधिकारिक भिभो बिक्री केन्द्रबाट खरिद गर्न सकिने कम्पनीले जनाएको छ ।

कम्पनीले विशेष सुरुवाती अफरअन्तर्गत भिभो वाई३२ सार्वजनिक भएको पहिलो ३० दिनभित्र खरिद गर्ने ग्राहकलाई थप दुई वर्षको ब्याट्री वारेन्टी उपलब्ध गराउने जनाएको छ । यसले फोनको दीर्घकालीन प्रयोगमा ग्राहकलाई थप सुविधा र भरोसा दिने कम्पनीको अपेक्षा छ । 

Share News