काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनाल स्वास्थ्यमा एकाएक समस्या आएपछि अस्पताल भर्ना भएका छन् । मुटुमा असजिलो र स्वास्थ्यसम्बन्धी समस्या देखिएपछि उनलाईआइतबार मण्डिखाटारस्थित ह्याम्स अस्पताल भर्ना गरिएको हो ।
उनको सचिवालयका अनुसार मुटुमा सामान्य समस्या देखापरेपछि चिकित्सकको सल्लाहबमोजिम थप परीक्षण तथा उपचारका लागि अस्पताल लगिएको हो । हाल उनलाई चिकित्सकहरूको प्रत्यक्ष निगरानीमा राखी आवश्यक स्वास्थ्य परीक्षण तथा उपचार प्रक्रिया अगाडि बढाइएको छ ।
नेता खनालको अवस्था हाल सामान्य रहेको र आत्तिनुपर्ने स्थिति नरहेको उनको सचिवालयले स्पष्ट पारेको छ। चिकित्सकहरूका अनुसार प्रारम्भिक जाँचका क्रममा उहाँको स्वास्थ्य स्थिति स्थिर रहेको र थप केही परीक्षणका रिपोर्टहरू आउन बाँकी रहेको जनाइएको छ।
नेपालको वामपन्थी आन्दोलनका शीर्ष नेता खनाल यसअघि पनि विभिन्न स्वास्थ्य समस्याबाट ग्रसित रहँदै आएका छन् ।