काठमाडौं । बाढीपहिरोलगायत प्राकृतिक विपद्का कारण प्रमुख राजनीतिक दलहरूले यस वर्ष दशैं, तिहार र छठका अवसरमा केन्द्रीय तहमा औपचारिक चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम नगर्ने जनाएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रवक्ता जगदीश खरेलले जिल्ला, क्षेत्र र स्थानीय तहमा यस्ता कार्यक्रम भइरहे पनि केन्द्रीय स्तरमा कार्यक्रम गर्नेबारे कुनै निर्णय नभएको जानकारी दिए ।
नेपाली कांग्रेसका नवनिर्वाचित सहमहामन्त्री मनोजमणि आचार्यले पनि चियापानका विषयमा पार्टीले सोचिनसकेको बताए । नेकपा एमालेका प्रचार विभाग प्रमुख निरज आचार्यले कार्यक्रम नगर्नेबारे औपचारिक निर्णय नभएको भए पनि यसपटक केन्द्रीय तहमा चाडपर्वको उपलक्ष्यमा चियापान नहुने जानकारी दिए । नेपाली कम्युनिस्ट पार्टीका कार्यालय सचिव गणेशमान पुनले पनि यसपटक उल्लासको वातावरण नरहेकाले चियापान कार्यक्रम नहुने जानकारी दिए ।
देशका मुख्य राजनीतिक दलहरूले विगतमा जस्तो यस वर्ष भव्य चियापान कार्यक्रम आयोजना गर्ने तयारी गरेका छैनन् । विपद्बाट प्रभावित नागरिक राहत, पुनःस्थापना र पुनर्निर्माणको प्रतीक्षामा रहेका बेला उत्सवमूलक कार्यक्रम नगर्ने मनस्थितिमा दलहरू देखिएका हुन् ।
रास्वपाका प्रवक्ता खरेलले केन्द्रमा दशैं–तिहारका अवसरमा चियापान वा शुभकामना आदानप्रदान कार्यक्रम गर्नेबारे अहिलेसम्म कुनै निर्णय नभएको बताए । उनका अनुसार प्रदेश तथा जिल्लास्तरमा भने स्थानीय आवश्यकताअनुसार कार्यक्रम गर्न सकिनेछ ।
नेपाली कांग्रेसले पनि यस वर्ष केन्द्रीय स्तरमा चियापान आयोजना गर्ने निर्णय गरेको छैन । पार्टीका सहमहामन्त्री आचार्यका अनुसार महाधिवेशनलगायत आन्तरिक राजनीतिक गतिविधिका कारण कार्यक्रमबारे औपचारिक निर्णय हुन नसकेको हो ।
नेकपा एमालेले समेत यस वर्ष चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम गर्ने निर्णय गरेको छैन । एमालेले विगतमा दशैंको पूर्णिमाका दिन चियापान कार्यक्रम आयोजना गर्दै आए पनि पछिल्ला वर्षमा यस्तो कार्यक्रम नियमित हुन सकेको छैन । एमालेका प्रचार विभाग प्रमुख निरज आचार्यका अनुसार बाढी, पहिरो र विपद्का बेला पार्टी उत्सवको मुडमा छैन । पार्टी अध्यक्षसमेत बुवाको वार्षिकी बारेर सेतो कपडामै रहेकाले पनि यसपटक यस्ता उत्सवमय कार्यक्रम आयोजना नगर्ने आचार्यले जानकारी दिए ।
गत वर्ष पनि एमालेले चियापान कार्यक्रम गरेको थिएन । प्रमुख आचार्यका अनुसार गत वर्ष पार्टीको केन्द्रीय कार्यालयमा गरिएको आगजनीका कारण चियापान कार्यक्रम आयोजना गरिएको थिएन ।
त्यस्तै, नेपाली कम्युनिस्ट पार्टीले भोटेकोशी, बूढीगण्डकीलगायत क्षेत्रमा आएको विनाशकारी बाढीबाट भएको क्षतिलाई मध्यनजर गर्दै केन्द्रमा दशैं–तिहार लक्षित शुभकामना आदानप्रदान कार्यक्रम नगर्ने निर्णय गरिसकेको छ । पार्टीका कार्यालय सचिव गणेशमान पुनले विपद्को अवस्थालाई ध्यानमा राखेर यस्तो निर्णय गरिएको बताएका छन् ।
यस वर्ष बाढीपहिरोले देशका विभिन्न क्षेत्रमा ठूलो क्षति पुर्याएको छ । विशेषगरी भोटेकोशी–त्रिशूली क्षेत्रको बाढीपछि प्रभावित नागरिकको उद्धार, राहत, पुनःस्थापना र पुनर्निर्माणका विषयमा सरकार तथा राजनीतिक दलहरूबीच छलफल हुँदै आएको छ ।
विगतमा दशैं–तिहारको चियापान राजनीतिक दलका नेता, कार्यकर्ता तथा विभिन्न क्षेत्रका व्यक्तिबीच भेटघाट र शुभकामना आदानप्रदान गर्ने महत्त्वपूर्ण अवसरका रूपमा रहँदै आएको थियो । यस्ता कार्यक्रममार्फत दलहरूले आपसी सम्बन्ध सुधार गर्ने गर्दथे । कतिपय अवस्थामा यस्ता कार्यक्रमलाई राजनीतिक सम्बन्ध विस्तार र शक्ति प्रदर्शनको माध्यमका रूपमा समेत लिने गरिएको थियो । तर यस वर्ष प्राकृतिक विपद्बाट उत्पन्न परिस्थितिका कारण प्रमुख दलहरूको केन्द्रीय स्तरको चियापान कार्यक्रम प्रभावित हुने देखिएको छ ।