युवाको आवाज बुलन्द गर्ने संकल्प कमजोर भएको छैन : सौगात थापा

काठमाडौं । नेपाली कांग्रेसको ३५ वर्ष मुनिको केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका सौगात थापाले आफूलाई मत दिने महाधिवेशन प्रतिनिधि  र समर्थन गर्ने सबैलाई आभार व्यक्त गरेका छन् । 

उनले निर्वाचनको परिणामलाई हारका रूपमा मात्र नलिई राजनीतिक यात्रालाई थप परिपक्व र सशक्त बनाउने अवसरका रूपमा लिएको बताएका छन् ।

सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै थापाले युवाको आवाज बुलन्द गर्ने आफ्नो संकल्प कमजोर नभएको उल्लेख गरेका छन् । 

राजनीतिमा एउटा निर्वाचन अन्तिम गन्तव्य नभई यात्राको एउटा मोड मात्र भएको उनको भनाइ छ ।

‘निर्वाचित हुन सकिनँ, तर युवाको आवाज बुलन्द गर्ने मेरो संकल्प कमजोर भएको छैन,’ थापाले लेखेका छन्, ‘आज प्राप्त अनुभव, अग्रजहरूको मार्गदर्शन, साथीहरूको साथ र शुभेच्छुकहरूको विश्वासलाई ऊर्जामा बदल्दै अझ जिम्मेवार भएर अघि बढ्नेछु ।’

उनले आफ्नो पक्षमा उभिने, मत दिने तथा हौसला प्रदान गर्ने देशभरका महाधिवेशन प्रतिनिधिप्रति धन्यवाद व्यक्त गरेका छन् । 

महाधिवेशन प्रतिनिधिहरूले दिएको विश्वास मतको सङ्ख्याभन्दा ठूलो राजनीतिक पुँजी भएको उनको भनाइ छ ।

थापाले निर्वाचित केन्द्रीय सदस्यहरूलाई बधाई दिँदै उनीहरूको सफलतासँग पार्टी र नयाँ पुस्ताको भविष्य जोडिएको बताएका छन् । 

निर्वाचनमा अपेक्षित परिणाम हासिल गर्न नसके पनि आफ्नो राजनीतिक यात्रा नरोकिने उनको दाबी छ ।

‘आज परिणामले केही पछाडि राखेको होला, तर मेरो सपना, संकल्प र यात्रालाई रोक्न सक्ने छैन,’ उनले लेखेका छन्, ‘समयले फेरि अवसर दिनेछ, म आफूलाई अझ योग्य बनाउँदै जनताको विश्वास र पार्टीको जिम्मेवारीका लागि निरन्तर क्रियाशील रहनेछु।’

युवा पुस्ताको प्रतिनिधित्व गर्दै केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका थापाले निर्वाचनबाट प्राप्त अनुभवलाई आगामी राजनीतिक यात्राको आधार बनाउने बताएका छन्।

नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा ३५ वर्षमुनिको युवा खुला क्लस्टरबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका थिए । उनले २ हजार १२ मत प्राप्त गरेका थिए । उनी कास्की २ नम्बर क्षेत्रबाट महाधिवेशन प्रतिनिधि भएका थिए  । 

Share News