‘सूचना चुहाउनेलाई कारबाही हुन्छ, प्रहरीले आचरण र कार्यशैली सुधार्नू’

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले राज्यका संवेदनशील सूचना चुहाउनेमाथि कडा कारबाही गरिने चेतावनी दिएका छन् । ७१औं प्रहरी दिवसका अवसरमा शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै गृहमन्त्री गुरुङले राज्यका गोप्य तथा संवेदनशील सूचना संरक्षण गर्न प्रहरीलाई निर्देशन दिँदै सूचना चुहाउनेलाई कारवाही गर्ने चेतावनी दिएका हुन् ।

सरकारी सूचनाको गोपनीयता कायम राख्नु सम्बन्धित निकाय र कर्मचारीको जिम्मेवारी भएको उल्लेख गर्दै उनले सूचना चुहावटमा संलग्न कसैले पनि उन्मुक्ति नपाउने स्पष्ट पारेका हुन् ।

उनले सूचनाको संवेदनशीलता बुझेर जिम्मेवारीपूर्वक काम गर्न र गोपनीयता भङ्ग हुन नदिन सचेत रहन आग्रह गरे ।

नेपाल प्रहरीलाई थप सक्षम, व्यावसायिक र आधुनिक संगठनका रूपमा विकास गर्न कानुनी सुधारको तयारी भइरहेको पनि उनले जानकारी दिए । प्रहरी कर्मचारीको मनोबल बढाउन र उनीहरूलाई सेवाप्रति उत्प्रेरित गर्न आवश्यक सेवासुविधा कानुनमार्फत थप गर्ने दिशामा सरकार अघि बढिरहेको उनको भनाइ थियो ।

अपराधको स्वरूप सीमाविहीन बन्दै गएको उल्लेख गर्दै गृहमन्त्री गुरुङले अन्तरदेशीय अपराधको नियन्त्रण र अनुसन्धान गर्न सक्ने क्षमतासहित नेपाल प्रहरीलाई स्थापित गर्नुपर्नेमा जोड दिए । बदलिँदो सुरक्षा चुनौतीअनुसार प्रहरीको क्षमता, दक्षता र कार्यशैलीमा सुधार आवश्यक रहेको उनले बताए ।

प्रहरीको बर्दी नागरिकका लागि भय र त्रासको प्रतीक नभई आशा, विश्वास र सुरक्षाको भरोसा बन्नुपर्ने उनको छ । नागरिक र प्रहरीबीच सहकार्य तथा विश्वासको वातावरण निर्माण गर्दै जनतामैत्री सेवा प्रवाह गर्न उनले प्रहरीलाई निर्देशन दिए ।

गृहमन्त्री गुरुङले विपद् उद्धारमा खटिने सुरक्षाकर्मीका लागि जोखिम भत्ता र खाजा खर्चको व्यवस्था गरिएको पनि बताए । त्यस्तै, नेपाल प्रहरीको संगठन तथा व्यवस्थापन सर्वेक्षणमार्फत जनशक्तिको दरबन्दी थप गर्ने प्रस्ताव अघि बढाइएको उनले जानकारी दिए ।

नयाँ सरकारले नयाँ ऊर्जा र प्रतिबद्धताका साथ जनताको सेवामा काम गरिरहेको उल्लेख गर्दै उनले प्रहरी कर्मचारीलाई आफ्नो आचरण र कार्यशैली सुधार गर्न आग्रह गरे । 

अपराध नियन्त्रण तथा अनुसन्धानमा कुनै प्रकारको सम्झौता नगर्न निर्देशन दिँदै उनले शून्य सहनशीलताको नीति अपनाएर नागरिकलाई सुरक्षित महसुस हुने वातावरण बनाउनुपर्नेमा जोड दिए ।

Share News