काठमाडौं । भारतको विदेशी क्षेत्रीय दर्ता कार्यालय (एफआरआरओ) ले अभिनेता इमरान खानलाई अक्टोबर २८ भित्र देश छाड्न निर्देशन दिएको छ ।
अमेरिकी नागरिक रहेको दाबी गरिएका इमरानमाथि भारतका मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारविरुद्धको विरोध प्रदर्शनमा सहभागी भएर विदेशीसम्बन्धी कानुन उल्लंघन गरेको आरोप लगाइएको छ ।
बलिउड अभिनेता आमिर खानका भाञ्जासमेत रहेका इमरान गत अक्टोबर १० मा मुम्बईस्थित अगस्त क्रान्ति मैदानमा भएको विरोध प्रदर्शनमा सहभागी भएका थिए । त्यसक्रममा उनलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।
प्रदर्शनमा सहभागी भएको विषयलाई लिएर भारतीय जनता पार्टी (भाजपा) का नेता किरीट सोमैयाले इमरान अमेरिकी नागरिक भएको दाबी गर्दै विदेशीसम्बन्धी कानुन उल्लंघन गरेको आरोप लगाएका थिए । उनले यस विषयमा प्रहरीमा उजुरीसमेत दिएका थिए ।
प्रहरीका अनुसार गामदेवी प्रहरी कार्यालयमा परेको उजुरीमाथि आवश्यक प्रक्रिया अघि बढाउँदै त्यसलाई विदेशी क्षेत्रीय दर्ता कार्यालयमा पठाइएको थियो ।
नाम सार्वजनिक नगर्ने सर्तमा एक प्रहरी अधिकारीले दिएको जानकारीअनुसार एफआरआरओले जारी गरेको सूचनामा इमरानमाथि आप्रवासन तथा विदेशीसम्बन्धी ऐनका दफा ७ र २९ उल्लंघन गरेको आरोप लगाइएको छ ।
सोही आधारमा उनलाई अक्टोबर २८ भित्र भारत छाड्न निर्देशन दिइएको हो ।