पाकिस्तानमा विद्यालयको छत खस्दा १८ बालबालिकासहित १९ जनाको मृत्यु

काठमाडौं । पाकिस्तानको पेसावरमा एक निजी विद्यालयको छत खस्दा १८ बालबालिका र एक महिला शिक्षिकासहित १९ जनाको मृत्यु भएको छ । 

दुर्घटनामा अन्य ४० बालबालिका घाइते भएका छन् ।

बीबीसी उर्दूका अनुसार उक्त दुर्घटना पेसावरको दिर कोलोनी क्षेत्रमा भएको हो ।

लेडी रिडिङ अस्पतालका प्रवक्ता मोहम्मद आसिमका अनुसार दुर्घटनापछि १८ बालबालिकालाई मृत अवस्थामा अस्पताल ल्याइएको थियो । दुर्घटनामा ज्यान गुमाएकी एक महिला शिक्षिकाको शव पनि अस्पताल ल्याइएको छ ।

उनका अनुसार दुर्घटनामा घाइते भएका ४० बालबालिकालाई उपचारका लागि लेडी रिडिङ अस्पतालमा भर्ना गरिएको छ । घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको बताइएको छ ।

अस्पताल प्रशासनका अधिकारीहरू ट्रमा सेन्टरमा खटिएका छन् । घाइते बालबालिकालाई तत्काल आवश्यक उपचार उपलब्ध गराउने काम भइरहेको अस्पतालले जनाएको छ ।

Share News