फेसबुक कमेन्टले मृत्युदण्ड, सर्वोच्च अदालतद्वारा सजाय रद्द

ईशनिन्दा गरेको ठहर गर्दै उनलाई मृत्युदण्डको सजाय सुनाइएको थियो ।

काठमाडौं । साउदी अरबको सर्वोच्च अदालतले ईशनिन्दाको आरोपमा मृत्युदण्डको सजाय पाएका श्रीलंकाली नागरिकको सजाय रद्द गरेको छ ।

श्रीलंकाका उपविदेशमन्त्री अरुण हेमाचन्द्रका अनुसार फेसबुकमा गरिएको टिप्पणीका कारण मृत्युदण्डको सजाय सुनाइएका २७ वर्षीय श्रीलंकाली आप्रवासी कामदार अनोझन शिवरासाको सजाय रद्द गरिएको हो । 

साउदी अरबको पुनरावेदन अदालतले उनलाई इस्लाम धर्म र पैगम्बर मोहम्मदको अपमान गरेको अर्थात् ईशनिन्दा गरेको ठहर गर्दै मृत्युदण्डको सजाय सुनाएको थियो ।

मृत्युदण्डको फैसला सार्वजनिक भएपछि श्रीलंकामा व्यापक आक्रोश उत्पन्न भएको थियो । 

हेमाचन्द्रले फेसबुकमा पोस्ट गर्दै बुधबार साउदी अरबको सर्वोच्च अदालतले उक्त सजाय रद्द गरेको जानकारी दिएका छन् । उनले यसका लागि पहल गर्ने दुवै देशका अधिकारी र कानुनी टोलीलाई धन्यवाद दिएका छन् ।

यस वर्ष जुनको अन्त्यतिर सामाजिक सञ्जालमा एउटा भिडियो भाइरल भएको थियो । भिडियोमा हिन्दू तीर्थयात्रीहरूको पछिपछि हिँडिरहेको कुकुरलाई एक युवा मुस्लिम पुरुषले लात हानेको देखिएको थियो ।

उक्त भिडियोमा प्रतिक्रिया दिँदै श्रीलंकाकी एक मुस्लिम महिलाले भगवान् शिवसँग सम्बन्धित विषयमा अश्लील टिप्पणी गरेकी थिइन् । 

त्यसको जवाफमा हिन्दू समुदायका शिवरासाले पनि टिप्पणी गरेका थिए, जसलाई साउदी अरबमा ईशनिन्दाका रूपमा व्याख्या गरिएको थियो ।

बीबीसीका अनुसार फेसबुकमा भएको विवादका क्रममा ती महिलाले शिवलिंगबारे अपमानजनक टिप्पणी गरेकी थिइन् । त्यसको जवाफमा शिवरासाले तमिल भाषामा पैगम्बर मोहम्मदको अपमान हुने टिप्पणी गरेका थिए ।

शिवरासाले उक्त टिप्पणी तत्काल हटाउँदै माफी मागेर भिडियोसमेत पोस्ट गरेका थिए । तर, उनको टिप्पणीको स्क्रिनसट श्रीलंकाकै एक मुस्लिम पुरुषले साउदी अरबमा शिवरासा कार्यरत कम्पनीलाई पठाएका थिए । त्यसपछि जुलाईमा उनलाई पक्राउ गरिएको थियो ।

मृत्युदण्डको सजाय रद्द भएसँगै शिवरासाविरुद्ध थप कानुनी कारबाही हुन्छ कि हुँदैन भन्ने स्पष्ट भइसकेको छैन । उनी जेलमै रहने हुन् वा रिहा हुने हुन् भन्नेबारे पनि जानकारी सार्वजनिक भएको छैन ।

यसअघि अल–अहसा फौजदारी अदालतले उनलाई पाँच वर्षको कैद र ३० लाख साउदी रियाल जरिवानाको सजाय सुनाएको थियो । 

Share News