भूकम्पीय क्षतिपछि तत्काल पैसा जुटाउन नेपालले क्याटास्ट्रोफी बन्ड ल्याउने

काठमाडौं । भूकम्पबाट हुन सक्ने जनधनको क्षति सम्बोधन गर्न नेपालले शीघ्र वित्तीय स्रोत जुटाउन सक्ने व्यवस्था विकास गर्ने उद्देश्यले नेपाल र विश्व बैंक समूहबीच साझेदारीको घोषणा भएको छ । यसका लागि नेपाल सरकार र विश्व बैंकअन्तर्गतको पुनर्निर्माण तथा विकासका लागि अन्तर्राष्ट्रिय बैंक (आईबीआरडी) बीच विपद् क्याटास्ट्रोफी बन्ड विकाससम्बन्धी कार्यादेश सम्झौतामा हस्ताक्षर भएको हो ।

असोज २९ गते भएको सम्झौतासँगै नेपालको विपद् जोखिम व्यवस्थापन रणनीतिमा पुँजी बजारको उपयोग गर्न सकिने सम्भावनाबारे अध्ययन गर्ने सहकार्य सुरु भएको छ । विपद्को उच्च जोखिममा रहेको नेपालले जोखिम न्यूनीकरण, पूर्वतयारी र वित्तीय सुरक्षाका उपायलाई एकीकृत गर्दै सम्भावित विपद्को सामना गर्ने, क्षति कम गर्ने तथा विपद्पछिको पुनरुत्थानलाई प्रभावकारी बनाउने प्रयास गर्दै आएको छ ।

सम्झौताअन्तर्गत विश्व बैंक समूहको ट्रेजरीले नेपाल सरकार र पुँजी बजारका लगानीकर्तासँग सहकार्य गरी क्याटास्ट्रोफी बन्ड जारी गर्न सकिने वित्तीय सम्भाव्यता र त्यसको सम्भावित संरचनाबारे अध्ययन गर्नेछ ।

क्याटास्ट्रोफी बन्ड प्राकृतिक विपद्जस्ता ठूला जोखिम लगानीकर्तामा हस्तान्तरण गरी विपद् परेको अवस्थामा आवश्यक वित्तीय स्रोत जुटाउन प्रयोग गरिने वित्तीय उपकरण हो । यस्तो बन्डको व्यवस्था गर्न सकेमा तोकिएका सर्त पूरा हुँदा विपद्पछिको उद्धार, राहत तथा पुनर्निर्माणका लागि आवश्यक रकम छिटो उपलब्ध गराउन सहयोग पुग्न सक्छ ।

यो पहल विश्व बैंक समूहको स्थापित क्याटास्ट्रोफी बन्ड कार्यक्रमको हिस्सा हो । उक्त कार्यक्रममार्फत विभिन्न देशलाई विपद्जन्य जोखिम हस्तान्तरण गर्न र प्राकृतिक प्रकोपबाट हुने सम्भावित आर्थिक क्षतिविरुद्ध वित्तीय सुरक्षा व्यवस्था गर्न अन्तर्राष्ट्रिय पुँजी बजारमा पहुँच विस्तार गर्न सहयोग गरिँदै आएको छ ।

Share News