बिल प्रविष्ट गर्ने म्याद असोज ३१ सम्म, कात्तिक १ मा विजेता घोषणा हुने

काठमाडौं । आन्तरिक राजस्व विभागले सञ्चालन गर्दै आएको करदाता प्रोत्साहन उपहार कार्यक्रममा सहभागी हुन खरिद बिलको विवरण प्रविष्ट गर्ने अन्तिम मिति असोज ३१ गते तोकिएको छ ।

विभागका अनुसार २०८३ असोज १६ देखि ३१ गतेसम्मको अवधिमा नगद भुक्तानी गरी वस्तु तथा सेवा खरिद गर्ने उपभोक्ताले आफ्नो बिलको विवरण प्रविष्ट गरी उपहार कुपन प्राप्त गर्न सक्नेछन् ।

उक्त अवधिका उपहार कुपन कात्तिक १ गते खोलिने र विजेताको घोषणा गरिने विभागले जनाएको छ ।

उपभोक्ताले बिलको विवरण प्रविष्ट गर्न विभागको वेबसाइट prize.ird.gov.np मा गई आवश्यक विवरण भर्नुपर्नेछ। यसका लागि असोज ३१ गते शनिबारभित्रै बिल प्रविष्ट गरिसक्नुपर्नेछ ।

विभागले पुरस्कार प्राप्त गर्न खरिद बिल अनिवार्य हुने भएकाले वस्तु तथा सेवा खरिद गर्दा अनिवार्य रूपमा बिल लिन उपभोक्तालाई आग्रह गरेको छ । त्यस्तै, वस्तु तथा सेवा बिक्री गर्दा अनिवार्य रूपमा बिक्री बिल वा बीजक जारी गर्न व्यवसायीहरूलाई अनुरोध गरेको छ ।

विभागले यस कार्यक्रममार्फत उपभोक्तालाई बिल लिने बानीको विकास गराउनुका साथै व्यवसायीलाई कारोबारको बिल जारी गर्न प्रोत्साहित गर्ने उद्देश्य राखेको छ । 

Share News