‘बैंकको कर्जा उत्पादनभन्दा उपभोगमा, धितो अभावले उद्यमी ऋणबाट वञ्चित’

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले बैंक तथा वित्तीय संस्थाबाट प्रवाह हुने कर्जा उत्पादनशील क्षेत्रभन्दा उपभोगमा केन्द्रित भएको बताएका छन् । 

नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको ‘वर्तमान आर्थिक अवस्था र निजी क्षेत्र विकासको सम्भावना’ विषयक छलफल कार्यक्रममा बोल्दै श्रेष्ठले बैंकिङ प्रणालीमा पर्याप्त तरलता रहे पनि त्यसलाई उत्पादन र रोजगारी सिर्जनामा परिचालन गर्न नसकिएको बताएका हुन् । 

‘बैंकमा पर्याप्त तरलता छ । अहिलेको चुनौती यो रकम उत्पादनमा लगाउनु हो,’ उनले भने, ‘सरकारबाट पहल भइरहेको छ, तर पूर्णरूपमा नभएकाले व्यवसायी ढुक्क भएर लगानी गर्न सकिरहेका छैनन् ।’

बैंकमा पैसा थुप्रिए पनि उत्पादनशील उद्योगमा लगानी बढ्न नसक्नु अर्थतन्त्रको प्रमुख चुनौतीका रूपमा देखिएको उनको भनाइ छ । 

उद्यम गर्न चाहने व्यक्तिले धितो राख्न सक्ने सम्पत्ति नभएकै कारण कर्जा नपाउने अवस्थाले नयाँ व्यवसायको विस्तार र रोजगारी सिर्जनामा अवरोध पुर्याएको उनले बताए । 

श्रेष्ठले विगतका आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षको आर्थिक वृद्धिदर कम हुने अनुमान गरिएको उल्लेख गर्दै निजी क्षेत्रको लगानी बढाउन सरकारबाट थप पहल आवश्यक रहेको बताए । 

नीतिगत स्पष्टता र लगानीको वातावरणमा सुधार नहुँदासम्म व्यवसायीले जोखिम लिएर लगानी गर्न नसक्ने उनको भनाइ छ । 

मूल्य बढ्दैमा अर्थतन्त्र बढेको मान्न मिल्दैन 

श्रेष्ठले बजारमा वस्तु तथा सेवाको मूल्य बढ्दैमा अर्थतन्त्र विस्तार भएको मान्न नहुने बताए । उत्पादन तथा सञ्चालन लागत बढिरहेका बेला मूल्यवृद्धिलाई आर्थिक गतिविधि विस्तारको संकेतका रूपमा बुझ्न नमिल्ने उनको तर्क छ ।

उनले थोक मुद्रास्फीति ८.२७ प्रतिशत पुगेको उल्लेख गर्दै बढ्दो लागतले उद्योग व्यवसायको प्रतिस्पर्धात्मक क्षमतामा असर पारिरहेको बताए । उत्पादन लागत बढ्ने तर त्यसअनुसार उत्पादकत्व र बजार विस्तार नहुने अवस्थाले निजी क्षेत्रलाई थप दबाबमा पारेको उनको आशय छ । 

उनका अनुसार अर्थतन्त्रमा लगानी विस्तार, उत्पादन वृद्धि र रोजगारी सिर्जनालाई प्राथमिकता नदिएसम्म आर्थिक गतिविधिमा अपेक्षित सुधार आउन कठिन हुन्छ ।

सेयर बजारमा उत्पादनशील उद्योगको उपस्थिति न्यून

श्रेष्ठले नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत कम्पनीमध्ये उत्पादनशील उद्योगको उपस्थिति न्यून रहेको विषय पनि उठाए । 

सेयर बजारमा बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको बाहुल्य देखिए पनि वास्तविक उत्पादनसँग जोडिएका उद्योगको संख्या अपेक्षाकृत कम रहेको उनले बताए । 

उत्पादनशील उद्योगको विस्तारका लागि आवश्यक पुँजी परिचालन सहज बनाउनुपर्ने र उद्यमशीलतामा लगानी बढाउनुपर्ने उनको धारणा छ । बैंकको कर्जा प्रवाहलाई उत्पादन, उद्योग स्थापना र व्यवसाय विस्तारसँग जोड्न सके मात्रै अर्थतन्त्रको आधार बलियो बन्ने उनले बताए । 

धितोमा आधारित कर्जा प्रणालीका कारण सम्भावना भएका उद्यमीसमेत वित्तीय पहुँचबाट वञ्चित हुने गरेको भन्दै उनले उद्यमीको व्यावसायिक क्षमता र परियोजनाको सम्भाव्यतालाई समेत कर्जा मूल्यांकनको आधार बनाउनुपर्ने आवश्यकतातर्फ संकेत गरे ।

३० प्रतिशतभन्दा बढी युवा रोजगारी र तालिमबाट बाहिर

श्रेष्ठले नेपालको रोजगारीको अवस्थालाई चिन्ताजनक भन्दै ३० प्रतिशतभन्दा बढी युवा रोजगारी तथा तालिमबाट बाहिर रहेको तथ्य प्रस्तुत गरे । 

युवालाई सीप, उद्यमशीलता र उत्पादनसँग जोड्न नसक्दा उपलब्ध जनशक्तिको प्रभावकारी उपयोग हुन नसकेको उनको भनाइ थियो । 

रोजगारीका अवसर सिर्जना गर्न निजी क्षेत्रको लगानी विस्तार आवश्यक रहेको उल्लेख गर्दै उनले स्वच्छ ऊर्जा, सूचना प्रविधि, साना तथा मझौला उद्योग, पर्यटन र क्षेत्रीय व्यापारलाई अर्थतन्त्र विकासका सम्भावनायुक्त क्षेत्रका रूपमा प्रस्तुत गरे । 

यी क्षेत्रमा लगानी बढाउन सके उत्पादन र सेवाको विस्तारसँगै रोजगारीका नयाँ अवसर सिर्जना गर्न सकिने उनको धारणा छ । 

रसुवा बाढीको पुनर्बीमा दायित्व ७ खर्बभन्दा बढी हुने अनुमान

श्रेष्ठले रसुवा बाढीबाट भएको क्षतिसँग सम्बन्धित पुनर्बीमा रकम ७ खर्ब रुपैयाँभन्दा बढी हुन सक्ने अनुमानसमेत प्रस्तुत गरे । 

प्राकृतिक विपद्ले व्यवसाय, सम्पत्ति र आर्थिक गतिविधिमा पार्ने असरलाई सम्बोधन गर्न प्रभावकारी जोखिम व्यवस्थापन र पुनरुत्थानका उपाय आवश्यक रहेको उनको भनाइ छ । 

प्राकृतिक विपद्बाट प्रभावित व्यवसायलाई पुनः सञ्चालनमा ल्याउन वित्तीय सहजीकरण र लगानीको वातावरण आवश्यक हुने भएकाले निजी क्षेत्रको पुनरुत्थानलाई पनि आर्थिक नीतिको प्राथमिकतामा राख्नुपर्ने उनको भनाइ छ । 

उनले उद्योगी व्यवसायीलाई कुनै आरोपकै आधारका मात्रै धरपकड तथा पक्राउ गर्न नहुने पनि धारणा राखे ।

Share News