काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवाल र नेपालका लागि दक्षिण अफ्रिकाका राजदूत प्रा. अनिल सुकलालबीच द्विपक्षीय व्यापार, लगानी तथा निजी क्षेत्रबीचको सहकार्य विस्तार गर्ने विषयमा छलफल भएको छ ।
बुधबार चेम्बर भवनमा भएको भेटवार्तामा पूर्वाधार विकास, खानी तथा खनिज, ऊर्जा, कृषि प्रशोधन, सूचना प्रविधि र पर्यटनलगायतका क्षेत्रमा सहकार्यका सम्भावनाबारे छलफल भएको हो ।
भेटमा चेम्बर अध्यक्ष अग्रवालले नेपाल र दक्षिण अफ्रिकाबीच आर्थिक सम्बन्ध सुदृढ बनाउन निजी क्षेत्रबीच प्रत्यक्ष व्यावसायिक सम्बन्ध विस्तार, व्यापारिक प्रतिनिधिमण्डलको आदानप्रदान, बजार पहिचान तथा संयुक्त लगानीलाई प्राथमिकता दिनुपर्ने बताए ।
उनले नेपाली पश्मिना, चिया, कफी, मसला तथा हस्तकलाका सामग्री दक्षिण अफ्रिकी बजारमा प्रवर्द्धन गर्न सकिने उल्लेख गरे । कृषि प्रशोधन, नवीकरणीय ऊर्जा र पर्यटन क्षेत्रमा समेत सहकार्यको पर्याप्त सम्भावना रहेको उनको भनाइ थियो ।
अग्रवालले नेपाली उच्च मूल्यका कृषि उत्पादनलाई दक्षिण अफ्रिकाको सिँचाइ, शीतभण्डारण तथा कृषि प्रशोधनसम्बन्धी अनुभवसँग जोड्न सकिने बताए । कृषि उत्पादनको प्रशोधन, प्याकेजिङ, भण्डारण र बजार व्यवस्थापनमा संयुक्त परियोजना सञ्चालन गर्न सके निर्यात प्रवर्द्धन र रोजगारी सिर्जनामा योगदान पुग्ने उनले उल्लेख गरे ।
त्यस्तै, नवीकरणीय ऊर्जा, ऊर्जा भण्डारण, विद्युत् प्रसारण सञ्जाल तथा जलवायु अनुकूल पूर्वाधार विकासमा सहकार्यका अवसर खोज्नुपर्नेमा उनले जोड दिए। नेपालको हिमाली तथा सांस्कृतिक पर्यटनलाई दक्षिण अफ्रिकाको वन्यजन्तु तथा सफारी पर्यटनसँग जोडेर संयुक्त पर्यटन प्याकेज विकास गर्न सकिने सम्भावना पनि उनले औँल्याए।
नेपाल र दक्षिण अफ्रिकाबीचको व्यापारिक सम्बन्धलाई परिणाममुखी बनाउन चेम्बर, कूटनीतिक नियोग र सम्बन्धित सरकारी निकायबीच नियमित संवाद आवश्यक रहेको अग्रवालले बताए। दुवै देशका निजी क्षेत्रका प्रतिनिधि सम्मिलित संयुक्त कार्यसमूह गठन, प्राथमिकताका वस्तु तथा सेवाको सूची तयार र सम्भावित लगानी परियोजना पहिचान गरेर सहकार्य अघि बढाउन सकिने उनको भनाइ थियो।
दक्षिण अफ्रिकाका राजदूत प्रा. सुकलालले नेपालसँग निजी क्षेत्रको सहकार्यलाई व्यावहारिक रूपमा अघि बढाउन सकिने क्षेत्रबारे चर्चा गर्दै पूर्वाधार विकास तथा खानी र खनिज क्षेत्रलाई प्राथमिकतामा राख्न सकिने बताए।
उनले दक्षिण अफ्रिकी कम्पनीहरूले मध्यपूर्वलगायत अन्तर्राष्ट्रिय बजारमा पूर्वाधार निर्माण तथा विकासका क्षेत्रमा काम गरिरहेको उल्लेख गर्दै उनीहरूको अनुभव नेपालका पूर्वाधार आयोजनामा उपयोगी हुन सक्ने बताए।
त्यसैगरी, खानी तथा खनिज अन्वेषणमा दक्षिण अफ्रिकासँग लामो अनुभव र प्राविधिक दक्षता रहेको उल्लेख गर्दै नेपालमा उपलब्ध खनिज स्रोतको पहिचान, सम्भाव्यता अध्ययन तथा विकासमा सहकार्य गर्न सकिने उनले बताए।
राजदूत सुकलालले भारत र दक्षिण अफ्रिकाबीच निजी क्षेत्रको व्यापारिक सहकार्यलाई पुनः सक्रिय बनाउने क्रममा विभिन्न क्षेत्रका उद्योगी तथा व्यवसायीलाई समेटेर सहकार्यका क्षेत्र पहिचान गर्ने पहल भइरहेको जानकारी दिए। उक्त अनुभवले नेपालसँगको व्यावसायिक सम्बन्ध विस्तारमा समेत सहयोग पुग्ने उनको भनाइ थियो।
भेटमा व्यापार विस्तारका क्रममा देखिने ढुवानी तथा पारवहन, भिसा प्रक्रिया, गुणस्तर मापदण्ड र लगानी स्वीकृतिसम्बन्धी अवरोध समाधान गर्न द्विपक्षीय समन्वय प्रभावकारी बनाउनुपर्नेमा पनि जोड दिइएको थियो।
भेटवार्तामा दक्षिण अफ्रिकाका लागि नेपालका मानार्थ वाणिज्यदूत प्रदीपलाल श्रेष्ठ, नेपाल चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष दीपककुमार मल्होत्रा तथा आईटी समितिका सभापति विज्ञान श्रेष्ठलगायतको उपस्थिति थियो।