काठमाडौं । नेपालमा पर्यटक भिसामा आएर भिसाको उद्देश्यविपरीत गतिविधिमा संलग्न भएको आरोपमा २४ जना दक्षिण कोरियाली नागरिकलाई निष्कासन गरिएको छ । अध्यागमन विभागले उनीहरूको भिसा रद्द गर्दै नेपालबाट प्रस्थान गरेको मितिले तीन वर्षसम्म नेपाल आउन नपाउने निर्णय गरेको हो ।
विभागका अनुसार नेपालमा उनीहरूको बसाइ शंकास्पद देखिएको, आचरण संदिग्ध रहेको र प्राप्त भिसाको उद्देश्यविपरीत कार्य गरेको भन्दै जिल्ला प्रशासन कार्यालय, मोरङले असोज २३ गते अनुसन्धान तथा कारबाहीका लागि उनीहरूलाई विभागमा उपस्थित गराएको थियो ।
उनीहरू मोरङको सुन्दरहरैँचा नगरपालिका–७ स्थित मालती मार्गको ‘सुन्दर डाँडा’ क्षेत्रमा रहेको नेपाल न्यु कभेनन्ट कलेज (एनएनसीसी) नामक शैक्षिक संस्थाको दीक्षान्त समारोह तथा धार्मिक कार्यक्रममा सहभागी भएका थिए । पर्यटक भिसामा आएका उनीहरू धार्मिक गतिविधिमा सहभागी भएको सूचनाका आधारमा प्रहरीले पक्राउ गरेको थियो ।
विभागका अनुसार पक्राउ परेका सबै दक्षिण कोरियाली नागरिकको भिसा अवधि भने वैध थियो । तर, भिसाको उद्देश्यविपरीत गतिविधिमा संलग्न भएको ठहर गर्दै प्रचलित अध्यागमन कानुनअनुसार उनीहरूलाई जनही ५० हजार रुपैयाँ जरिवाना गरिएको छ ।
असोज २८ गतेको निर्णयअनुसार उनीहरूको भिसा रद्द गरी तीन वर्षसम्म नेपाल प्रवेश गर्न नपाउने गरी निष्कासन गरिएको विभागले जनाएको छ ।