काठमाडौं । तीनदिने भारत भ्रमणमा रहेका गृहमन्त्री सुधन गुरुङले अन्तरदेशीय अपराध नियन्त्रणका लागि क्षेत्रीय सहकार्यलाई थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका छन् ।
भारतमा आयोजित पहिलो बिमस्टेक गृहमन्त्रीस्तरीय बैठकमा सहभागी हुँदै उनले अपराध नियन्त्रणका लागि सीमापार सूचना आदानप्रदान, प्रविधिको उपयोग र संयुक्त पहल आवश्यक रहेको बताएका हुन् ।
गृहमन्त्री गुरुङले बुधबार सामाजिक सञ्जालमार्फत बैठकमा नेपालका तर्फबाट राखेका धारणा र भारतीय समकक्षी अमित शाहसँग भएको छलफलबारे जानकारी दिएका छन् ।
आतंकवाद, मानव बेचबिखन, लागुऔषध तस्करी, सम्पत्ति शुद्धीकरण र साइबर अपराधजस्ता अन्तरदेशीय चुनौती बढिरहेको उल्लेख गर्दै उनले भावी पुस्ताको सुरक्षित भविष्यका लागि बिमस्टेक सदस्य राष्ट्रहरूबीच बलियो सहकार्य आवश्यक रहेको बताएका छन् ।
‘अपराधविरुद्धको हाम्रो सहकार्य सीमाभन्दा बलियो र अपराधीको गतिभन्दा छिटो हुनुपर्छ भन्ने मान्यता नेपालको तर्फबाट मैले स्पष्ट रूपमा राखेको छु,’ उनले लेखेका छन्, ‘यसका लागि प्रभावकारी सूचना आदानप्रदान, प्रविधिको उपयोग र संयुक्त क्षेत्रीय पहल अपरिहार्य छ ।’
बैठकमा नेपालले प्राकृतिक विपद् व्यवस्थापनका लागि समेत नयाँ क्षेत्रीय संयन्त्र निर्माणको प्रस्ताव अघि सारेको छ ।
प्राकृतिक विपत्तिले मुलुकको सीमा नचिन्ने यथार्थलाई ध्यानमा राख्दै गुरुङले बिमस्टेकअन्तर्गत क्षेत्रीय विपद् पूर्वतयारी तथा प्रतिकार्य संयन्त्र र संयुक्त कार्यदल गठन गर्न प्रस्ताव गरेका हुन् ।
यसैबीच, बैठकका क्रममा गृहमन्त्री गुरुङले भारतीय समकक्षी अमित शाहसँग द्विपक्षीय भेटवार्ता गरेका छन् ।
भेटमा नेपाल–भारतबीचका साझा सुरक्षा चासो तथा सुरक्षा क्षेत्रमा देखिएका नयाँ चुनौतीबारे छलफल भएको उनले जानकारी दिएका छन् ।
दुवै गृहमन्त्रीले द्विपक्षीय सुरक्षाका परम्परागत तथा नवीन चुनौती सम्बोधन गर्न आपसी समन्वय र सहकार्य थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
भेटवार्तामा सुरक्षा मामिलासँगै नेपाली उद्योगी, व्यापारी र भारतमा रहेका प्रवासी नेपालीका समस्याले पनि प्राथमिकता पाएका थिए ।
गृहमन्त्री गुरुङले नेपाली उद्योगी तथा व्यापारीले भारतीय बजारमा पहुँच विस्तार गर्दा सामना गर्नुपरेका चुनौती र भारतमा कार्यरत तथा बसोबास गर्दै आएका नेपालीका समस्याबारे भारतीय पक्षको ध्यानाकर्षण गराएका थिए ।
उनका अनुसार यी विषयमा भएको छलफलका क्रममा भारतीय पक्षले आवश्यक समन्वय गर्ने प्रतिबद्धता जनाएको छ ।
गृहमन्त्री गुरुङ आज साँझ ७ बजे स्वदेश फर्कने कार्यक्रम छ।