काठमाडौं । काठमाडौंको बल्खु क्षेत्रमा सार्वजनिक यातायातका यात्रुलाई दुःख दिने र चालकसँग रकम माग गर्दै धम्की दिने आरोपमा तीन जना पक्राउ परेका छन् ।
प्रहरीका अनुसार विभिन्न यातायात कम्पनीका काउन्टरमा काम गर्ने व्यक्तिहरूले उपत्यकाबाहिर जाने यात्रुलाई आफूले भनेको गाडीमा चढ्न दबाब दिने, यात्रुको सामान तान्ने र सस्तो टिकटको प्रलोभन देखाएर दुःख दिने गरेका थिए ।
यस्तै, यात्रु मिलाइदिएबापत सवारी चालकसँग रकम असुल्ने र सम्राट मेट्रो यातायात कम्पनीमा आबद्ध हुनुपर्ने भन्दै चालकसँग पैसा माग्ने गरेको प्रहरीको भनाइ छ । रकम नदिए गाडी जान नदिने भन्दै धम्की दिने, सार्वजनिक स्थानमा हातपात गर्ने र अश्लील शब्द प्रयोग गरी गालीगलौज गर्ने गरेको सूचनाका आधारमा प्रहरीले खोजतलास गरेको थियो ।
प्रहरी टोलीले रौतहटको गौर नगरपालिका–१ घर भई काठमाडौंको भोटेबहाल बस्ने ४३ वर्षीय विशालकुमार जैसवाल र भारतको मोतिहारी कोटोहा–१० घर भएका ४२ वर्षीय रञ्जन कुमारलाई बल्खुबाट पक्राउ गरेको हो । त्यस्तै, सिरहाको सिरहा नगरपालिका–५ घर भई बल्खु बस्ने ५१ वर्षीय राम कलेवर यादवलाई माइतीघर चोकबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
उनीहरूलाई अभद्र व्यवहार गर्न नहुने कसुरमा अनुसन्धानका लागि जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट तीन दिनको म्याद थप अनुमति लिइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।