२१ अंकले बढ्यो नेप्से, ४ अर्बको कारोबार

काठमाडौं । बुधबार सेयर बजार दोहोरो अंकले बढेका छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २१.३२ अंकले बढेर २६२१ बिन्दुमा पुगेको हो ।  

नेप्सेका अनुसार १८८ कम्पनीको सेयर मूल्य बढ्दा ८० कम्पनीको सेयर मूल्य बढेको छ । ९ कम्पनीको सेयर मूल्यमा भने कुनै परिवर्तन आएको छैन । 

बुधबार ३५४ कम्पनीको १ करोड कित्ता सेयर किनबेच हुँदा ४ अर्ब १३ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार कुमारी बैंकको भएको छ । कुमारीको २६ करोड रुपैयाँको कारोबार भएको छ ।  

साथै घलेम्दी हाइड्रोको २१ करोड, लक्ष्मी सनराइजको १२ करोड, सानिमा बैंकको १० करोड र सिटी होटलको ९ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।

नेप्सेमा कारोबार हुने सबै उपसूचकमा वृद्धि देखिएको छ । बैंकिङ, विकास बैंक, निर्जीवन बीमा र जीवन बीमा उपसूचकमा उल्लेख्य सुधार आएको छ ।

बैंकिङ उपसूचक सबैभन्दा बढी १.४५ प्रतिशतले बढेर १ हजार ५६५.६८ विन्दुमा पुगेको छ । त्यसैगरी, निर्जीवन बीमा उपसूचक १.२० प्रतिशतले बढेर ९ हजार ५३३.९८ विन्दुमा पुगेको छ ।

विकास बैंक उपसूचक १.१९ प्रतिशतले बढेर ५ हजार ४६७.९० विन्दुमा पुगेको छ भने जीवन बीमा उपसूचक ०.७३ प्रतिशतले बढेर ११ हजार ९१२.२९ विन्दुमा पुगेको छ ।

त्यस्तै, लघुवित्त उपसूचक ०.७९ प्रतिशत, व्यापार उपसूचक ०.८० प्रतिशत, अन्य उपसूचक ०.६३ प्रतिशत र लगानी उपसूचक ०.५२ प्रतिशतले बढेका छन् ।

उत्पादन तथा प्रशोधन उपसूचक ०.४६ प्रतिशत, म्युचुअल फन्ड ०.४० प्रतिशत र जलविद्युत् उपसूचक ०.२९ प्रतिशतले बढेका छन् ।

होटल तथा पर्यटन र वित्त उपसूचकमा समान ०.०४ प्रतिशतको वृद्धि देखिएको छ ।

सबै १३ उपसूचक सकारात्मक देखिएका छन् ।   

Share News