टक्सार पिखुवा खोलाको १ लाख ४९ हजार कित्ता सेयरको लकइन अवधि सकिँदै

काठमाडौं । टक्सार पिखुवा खोला हाइड्रोपावर लिमिटेडले सामूहिक लगानी कोषको स्वामित्वमा रहेको १ लाख ४९ हजार ३२ कित्ता सेयरको लकइन अवधि आगामी मंसिर ५ गते समाप्त हुने जनाएको छ ।

कम्पनीले सार्वजनिक सूचना जारी गर्दै सामूहिक लगानी कोषका लागि बाँडफाँट गरिएको उक्त सेयरको लकइन अवधि समाप्त हुन लागेको जानकारी दिएको हो । लकइन अवधि समाप्त भएपछि नियमानुसार ती सेयर कारोबारका लागि फुकुवा हुन सक्नेछन् ।

कम्पनीले सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका कुल ४२ लाख ३० हजार ६६८ कित्ता साधारण सेयर निष्कासन गरेको थियो । त्यसमध्ये सामूहिक लगानी कोषका लागि १ लाख ५१ हजार ५३३ कित्ता सेयर छुट्याएर बाँडफाँट गरिएको थियो ।

सर्वसाधारणलाई सेयर बाँडफाँट भएको मितिले ६ महिनासम्म सामूहिक लगानी कोषको स्वामित्वमा रहेका सेयर लकइनमा राख्नुपर्ने व्यवस्था छ । सोही व्यवस्थाअनुसार लकइनमा राखिएका सेयरको अवधि मंसिर ५ गते समाप्त हुन लागेको कम्पनीले जनाएको छ ।

यसअघि सामूहिक लगानी कोषका दुईवटा योजना परिपक्व भइसकेकाले तिनको स्वामित्वमा रहेका २ हजार ५०१ कित्ता सेयर भने लकइन अवधि अगावै फुकुवा गरिएको सूचनामा उल्लेख छ । 

Share News