काठमाडौं । पोप लियोलाई फोक्सोको क्यान्सर भएको पुष्टि भएको छ । यद्यपि उनको दाहिने फोक्सोको तल्लो भाग हटाउन गरिएको शल्यक्रिया सफल भएको भ्याटिकनले जनाएको छ ।
भ्याटिकनले जारी गरेको स्वास्थ्यसम्बन्धी बुलेटिनअनुसार ७१ वर्षीय पोपको मंगलबार रोमस्थित जेमेली अस्पतालमा करिब ९० मिनेटसम्म शल्यक्रिया गरिएको थियो ।
शल्यक्रियापछि उनलाई फोक्सोको एडेनोकार्सिनोमा नामक क्यान्सर भएको पत्ता लागेको हो ।
भ्याटिकनले भनेको छ, ‘शल्यक्रिया सफल भएको छ र यस क्रममा कुनै जटिलता देखिएको छैन ।’
शल्यक्रियापछि पोप सामान्य रूपमा होसमा आएको र केही समय चिकित्सकीय निगरानीमा राखेपछि उनलाई आफ्नो कोठामा सारिएको पनि भ्याटिकनले जनाएको छ ।
भ्याटिकनले नियमित स्वास्थ्य परीक्षणका क्रममा पहिलोपटक पोपको फोक्सोमा गाँठो देखिएको जानकारी दिएको छ । उनलाई करिब एक साता अस्पतालमै राखिने अपेक्षा गरिएको छ ।
यसअघि ठूलो संख्यामा मानिसहरू पोपको प्रतीक्षामा अस्पतालबाहिर घण्टौंसम्म बसेका थिए ।
पोप सवार गाडी अस्पताल परिसरमा पुग्दा उपस्थित मानिसहरूले उनको अभिवादन गर्दै शीघ्र स्वास्थ्यलाभको कामना गरेका थिए ।
त्यस क्रममा पोपले गाडीको पछाडिको झ्यालबाट हात हल्लाउँदै र मुस्कुराउँदै उनीहरूको अभिवादन स्वीकार गरेका थिए ।
त्यसपछि अस्पतालको सिँढीमा कर्मचारीहरूले उनको स्वागत गरेका थिए । तीमध्ये एक कर्मचारीले सहानुभूति व्यक्त गर्दै ‘मलाई दुःख लागेको छ’ भनेका थिए । जवाफमा पोपले मुस्कुराउँदै काँध उचालेका थिए । कर्मचारीहरूले उनलाई ‘हामी तपाईंको साथमा छौं’ भन्दै आश्वस्त पारेका थिए ।
भ्याटिकनले जारी गरेको विज्ञप्तिमा शल्यक्रियाका क्रममा पोपको दाहिने फोक्सोको तल्लो भाग पूर्ण रूपमा हटाइएको उल्लेख छ ।
शल्यक्रिया आवश्यकताअनुसार पूर्ण रूपमा सम्पन्न भएको सुनिश्चित गर्न उक्त भाग हटाइएको भ्याटिकनले स्पष्ट पारेको छ ।
यसैबीच, भ्याटिकनका एक स्रोतले समाचार संस्था एएफपीलाई क्यान्सर शरीरका अन्य भागमा फैलिएको छ वा छैन भन्ने पत्ता लगाउन थप परीक्षण भइरहेको जानकारी दिएका छन् ।