खाद्य तथा औषधी प्राधिकरण स्थापनाबारे मन्त्रालयमा छलफल

काठमाडौं । खाद्य स्वच्छता तथा गुणस्तर र औषधीको नियमनलाई थप प्रभावकारी बनाउन खाद्य तथा औषधि प्राधिकरण (एफडीए) स्थापना तथा सञ्चालनसम्बन्धी छलफल भएको छ ।

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सचिव डा. विकास देवकोटाको अध्यक्षतामा मंगलबार (आज) सम्पन्न बैठकमा प्रस्तावित प्राधिकरणको कानुनी तथा संस्थागत स्वरूप, कार्यक्षेत्र, संरचना र नियामक जिम्मेवारीबारे छलफल भएको हो ।

स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताको विशेष उपस्थितिमा भएको बैठकमा प्राधिकरणको वित्तीय मोडेल तथा सङ्घ, प्रदेश र स्थानीय तहबीचको समन्वयका विषयमा समेत विचारविमर्श गरिएको मन्त्रालयले जनाएको छ ।

बैठकमा खाद्य स्वच्छता तथा गुणस्तर र औषधीको नियमनलाई थप व्यवस्थित, वैज्ञानिक र प्रभावकारी बनाउन प्रस्तावित प्राधिकरणको भूमिका, विद्यमान नियामक निकायबीचको समन्वय तथा आवश्यक जनशक्ति र स्रोतसाधन व्यवस्थापनका विषयमा छलफल गरिएको थियो ।

बैठकमा मन्त्रालयका महाशाखा प्रमुखहरू, औषधी व्यवस्था विभाग र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशक, सम्बन्धित शाखाका अधिकारी तथा सरोकारवालाका प्रतिनिधिहरू सहभागी थिए ।
 

Share News