विश्व बाथरोग दिवसको अवसरमा सचेतना ‍र्‍याली

काठमाडौं । विश्व बाथरोग दिवस, २०२६ को अवसरमा र्युमाटोलोजी एन्ड आर्थराइटिस सेन्टरले बाथरोगसम्बन्धी जनचेतनामूलक कार्यक्रम तथा सचेतना र्याली गरेको छ । 

‘आफ्ना सपनाहरू पूरा गरौं’ भन्ने नाराका साथ आयोजित कार्यक्रमले बाथरोगबारे जनचेतना अभिवृद्धि गर्ने, समयमै रोगको पहिचान तथा उपचारको महत्त्व बुझाउने र बाथरोगसम्बन्धी भ्रम हटाउने उद्देश्य राखेको थियो ।

कार्यक्रममा बाथरोगलाई सामान्य जोर्नी दुखाइका रूपमा मात्र नलिई समयमै विशेषज्ञ चिकित्सकसँग परामर्श लिनुपर्ने सन्देश दिइएको थियो । 

उचित पहिचान, नियमित उपचार र चिकित्सकीय सल्लाहको पालना गर्न सके रोगबाट हुने जटिलता कम गर्न तथा जीवनको गुणस्तर सुधार गर्न सकिनेमा जोड दिइएको थियो ।

कार्यक्रमका आयोजक र्युमाटोलोजी एन्ड आर्थराइटिस सेन्टर, नक्साल, काठमाडौंका तर्फबाट डा. अरुण कुमार गुप्ता, कन्सल्टेन्ट र्युमाटोलोजिस्ट तथा क्लिनिकल इम्युनोलोजिस्ट, ले बाथरोगसम्बन्धी जनचेतना फैलाउन, समयमै उपचार गर्न र विशेषज्ञ परामर्श लिन सबैलाई आग्रह गरे । 

बाथरोगसम्बन्धी सही जानकारी समुदायसम्म पुर्याउँदै रोगको समयमै पहिचान र उपचारप्रति जनचेतना बढाउनु नै विश्व बाथरोग दिवसको मुख्य सन्देश रहेको छ ।

के हो बाथ रोग ? 
 
डा. गुप्ताका अनुसार बाथरोग एक प्रकारको अटोइम्युन डिजिज हो । जब हाम्रो शरीरमा रोगसँग लड्न सक्ने रोग प्रतिरोधात्मक क्षमतामा गडबडी आउँछ त्यसपछि बाथ रोग देखा पर्छ । यसले शरीरका विभिन्न जोर्नीहरुमा असर पुराएर समयमै उपचार नगरेमा अपांग समेत बनाउने गर्छ । 

बाथरोग धेरै प्रकारका हुन्छन् । त्यसको प्रकार अनुसार विभिन्न भिन्न खालका लक्षण देखाउँछन् । तर सबैजसो बाथरोगमा सामान्यतया देखिने लक्षण भनेको जोर्नीहरु दुख्ने, सुन्निने र हिंडडुलमा समस्या हुने हो । 

यसले जोर्नी बाहेक शरीरका भित्री अंगहरु मुटु, मिर्गौला, फोक्सो, मस्तिष्क, कलेजोलाई हानी गर्न सक्छ। समयमा सही उपचार नपाए बाथरोगले अपांग बनाउने मात्र होइन ज्यानसमेत लिने गर्छ । बाथ रोगलाई तराई तिर गठिया रोग भनेको पाइन्छ ।

null

यो भर्खर जन्मेको नवजात शिशुदेखि लिएर ८०-९० वर्षका मानिसमा समेत हुने रोग हो ।  प्राय यो रोग माहिलामा बढी हुने गर्दछ । नवजात शिशुदेखि १० वर्षको उमेरका बच्चा बाथ देखियो भने यसलाई जुभिनाइल आरथ्राइटिस भनिन्छ । 

यो बाल्यकालमा हुने बाथ हो । त्यसै गरी यो एडल्ट र उमेर ढल्केका मानिसमा पनि हुने गर्छ । त्यसैले यो जोसुकैलाई र जुनसुकै उमेरमा पनि हुन सक्ने रोग हो ।

कारण र लक्षण र उपचार 

यो रोग यही कारणले नै लाग्ने गर्दछ भनेर अहिले सम्म पत्ता लाग्न सकेको छैन । यो कुनै जीवाणु र किटाणुले गर्दा हुने रोग होइन। यो कुनै संकामक रोग पनि होइन । यो अटो इम्युन रोग हो । यसले हाम्रो शरीरको रोगसँग लड्ने प्रतिरोधात्मक क्षमतालाई कमजोर पारिदिएर शरीरमा आघात पुर्याउने काम गर्छ । त्यसपछि शरीरमा बाथको उत्पत्ति हुन्छ ।

यो रोग वंशाणुगत कारणले पनि हुनसक्छ । घरमा यदि कोहीमा बाथ देखिएको छ भने परिवारका अन्य सदस्यमा पनि देखा पर्न सक्छ । ग्रामीण क्षेत्रको तुलनामा शहरी क्षेत्रमा यो समस्या बढी देखिने गर्दछ ।

सामान्यतया यो दुखाइबाट हुने रोग भएको हुँदा यसको मुख्य लक्षण भनेको दुखाइ नै हो । शरीरको जुनसुकै अंगमा दुखाइको महसुस हुन्छ जस्तै हाडजोर्नी, टाउको, गर्दन, पाखुरा दुख्ने, चलाउन गाह्रो पर्ने, औंलाहरू सुन्निएर दुख्ने, कुहिनो दुखेर चलाउन नमिल्ने आदि जस्ता पनि बाथका लक्षण हुन् । 

यसैगरी बिहान उठ्दा हाडगोडाको जोर्नी सुनिने, दुख्ने वा कक्रक्क हुने समस्या पनि हुन्छ जसले हिँडडुल गर्न, उठ्न बस्न नै समस्या पार्दछ । जसरी दिन बित्दै जान्छ यसले हड्डीलाई मात्र नभएर मुटु, फोक्सो, कलेजो, आँखा चारै तिर असर गर्दछ । 

जस्तै फोक्सोमा यो समस्या देखियो भने पछि गएर खोकी लाग्ने, स्याँ स्याँ बढ्ने आदि समस्या निम्त्याएर फोक्सोलाई नै यसले नष्ट पारिदिन्छ । यसको लक्षण सबै उमेर समूहका व्यक्तिमा एउटै हुने गरेको पाइन्छ ।

रोग लागिसकेपछि औषधी उपचार गर्नुको विकल्प रहँदैन । त्यसैले औषधिको माध्यमबाट बाथरोग सजिलै नियन्त्रण गर्न सकिन्छ । बाथरोगको सुरुवाती चरणमा उपचार गराउन सके जीवनयापन सहज बनाउन सकिन्छ । 

बिरामीको अवस्था हेरेर औषधि प्रयोग गर्ने, बायोलोजिकल एजेन्टस्बाट उपचार गर्ने, बाथरोगको अर्को उपचार पद्धति फिजियोथेरापी गर्नुपर्छ । यसले जोर्नी वरपरको लिगामेन्ट र मासंपेशीलाई बलियो बनाउने काम गर्छ । जसले गर्दा जोर्नीको दुखाइ विस्तारै कम हुँदै जान्छ ।

Share News