काठमाडौं । थाइल्यान्डको पर्यटक भिसा प्रक्रियामा देखिएको ढिलासुस्ती र अव्यावहारिक सर्तका कारण नेपाली यात्रु तथा पर्यटन व्यवसायीको लाखौं अमेरिकी डलर जोखिममा परेको भन्दै नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) ले कडा आपत्ति जनाएको छ ।
भिसा प्रक्रियामा तत्काल सुधार नभए थाइल्यान्डलाई नेपाली पर्यटकका लागि प्रवद्र्धन गरिने गन्तव्यको सूचीबाटै हटाउने र त्यहाँका पर्यटकीय प्याकेज बिक्री तथा समूहगत भ्रमण सञ्चालन बन्द गर्ने चेतावनी नाट्टाले दिएको हो ।
नाट्टाका अनुसार थाइल्यान्डको भिसा स्वीकृत हुने सुनिश्चितता नहुँदै नेपाली यात्रुले हवाई टिकट र होटल बुकिङका लागि अग्रिम भुक्तानी गर्नुपर्ने बाध्यता छ ।
तर, भिसा अस्वीकृत हुँदा वा निर्धारित यात्राको मिति सकिएपछि मात्रै निर्णय आउँदा यात्रुले अग्रिम भुक्तानी गरेको रकम गुमाउनुपर्ने अवस्था सिर्जना भएको छ ।
विशेषगरी कम मूल्यका हवाई टिकटमा रकम फिर्ता नहुने तथा टिकट रद्द गर्दा ठूलो शुल्क तिर्नुपर्ने व्यवस्थाले यात्रु र पर्यटन व्यवसायीमाथि थप आर्थिक भार परेको नाट्टाको भनाइ छ ।
सम्पूर्ण कागजात पूरा गरेर आवेदन दिँदासमेत भिसा अस्वीकृत हुने वा समयमा निर्णय नआउने घटनाले नेपाली यात्रु तथा व्यवसायीको लाखौं अमेरिकी डलर बराबरको रकम जोखिममा परेको नाट्टाले जनाएको छ ।
अनलाइन बुकिङ माध्यम तथा व्यावसायिक आरक्षण प्रणालीमार्फत गरिएको होटल बुकिङलाई पर्याप्त नमान्ने र सम्बन्धित होटलबाटै छुट्टै पुष्टि पत्र माग्ने व्यवस्थाले भिसा प्रक्रिया थप जटिल बनाएको नाट्टाको आरोप छ ।
भिसा स्वीकृत हुने सुनिश्चितता नहुँदै अग्रिम भुक्तानी गर्नुपर्ने, बुकिङमा अतिरिक्त सर्त पूरा गर्नुपर्ने र अन्ततः भिसा अस्वीकृत हुँदा वा ढिलो निर्णय आउँदा आर्थिक क्षति बेहोर्नुपर्ने अवस्थाले नेपाली यात्रु तथा व्यवसायी अन्यायमा परेको नाट्टाको ठहर छ ।
नाट्टाले यस्तो व्यवस्थाबाट आर्थिक शोषणको सम्भावनासमेत औँल्याउँदै निष्पक्ष छानबिनको माग गरेको छ । थाइल्यान्डको भिसा नीति र सार्वभौम अधिकारको सम्मान गर्ने स्पष्ट पार्दै नाट्टाले भिसा निर्णयमा हुने ढिलाइको सम्पूर्ण आर्थिक जोखिम नेपाली यात्रु र व्यवसायीमाथि थोपर्नु स्वीकार्य नहुने जनाएको छ ।
भिसा प्रक्रियालाई पारदर्शी, व्यावहारिक, समयबद्ध र आर्थिक रूपमा न्यायोचित बनाउन माग गर्दै नाट्टाले रोयल थाई दूतावाससँग तत्काल उच्चस्तरीय आपत्कालीन बैठकका लागि पत्राचार गरेको जनाएको छ ।
चाडपर्वको समयमा समेत भिसा प्रक्रियामा सुधार नभए नेपाली यात्रुको आर्थिक क्षति थप बढ्न सक्ने भन्दै नाट्टाले चिन्ता व्यक्त गरेको छ ।
तत्काल समस्या समाधान नभए थाइल्यान्डका नयाँ पर्यटकीय प्याकेज बिक्री तथा वितरण रोक्ने, विज्ञापन र प्रचारप्रसार बन्द गर्ने तथा नयाँ समूहगत भ्रमण र नियमित भ्रमण शृङ्खला सञ्चालन नगर्ने नाट्टाको चेतावनी छ ।
त्यस्तै, थाइल्यान्डलाई नेपाली पर्यटकका लागि प्रवर्द्धन गरिने गन्तव्यको सूचीबाट हटाउने र नेपाली यात्रुलाई सहज तथा सुरक्षित वैकल्पिक अन्तर्राष्ट्रिय गन्तव्य रोज्न प्रोत्साहित गर्ने नाट्टाले जनाएको छ ।
नाट्टाले नेपाली पर्यटन व्यवसायीको लगानी र उपभोक्ताको हित संरक्षणका लागि यस्तो खालको कदम चाल्नुपर्ने बाध्यात्मक अवस्था आउन सक्ने स्पष्ट पारेको छ ।
नेपाली ट्राभल एजेन्सीहरूले लामो समयदेखि थाइल्यान्डलाई प्रमुख अन्तर्राष्ट्रिय पर्यटकीय गन्तव्यका रूपमा प्रवर्द्धन गर्दै त्यहाँको पर्यटन उद्योगमा योगदान पुर्याउँदै आएको स्मरण गराउँदै नाट्टाले नेपाली यात्रुले सम्मानजनक, समयमै टुङ्गो लाग्ने र न्यायोचित भिसा प्रक्रिया पाउनुपर्ने माग गरेको छ ।
यस विषयमा नेपाल सरकार, परराष्ट्र मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र सम्बन्धित कूटनीतिक निकायलाई तत्काल सक्रिय हुन नाट्टाले आग्रह गरेको छ ।
