नेपालमै पहिलो पटक मर्क्योर काठमाडौं सुकधारा हाइट्सले पायो ‘ग्रीन की’ प्रमाणपत्र

काठमाडौं । मर्क्योर काठमाडौं सुकधारा हाइट्सले दिगो पर्यटन र वातावरणमैत्री अभ्यासका लागि प्रदान गरिने अन्तर्राष्ट्रिय ‘ग्रीन की’ प्रमाणपत्र प्राप्त गरेको छ । यो प्रमाणपत्र प्राप्त गर्ने नेपालकै पहिलो होटल बनेको कम्पनीले जनाएको छ ।

कम्पनीले जारी गरेको प्रेस विज्ञप्तिअनुसार ‘ग्रीन की’ वातावरणीय शिक्षा प्रतिष्ठान (एफईई) द्वारा सञ्चालित अन्तर्राष्ट्रिय वातावरणीय प्रमाणपत्र हो । यसले वातावरण संरक्षण र दिगो सञ्चालनका मापदण्ड पूरा गर्ने होटल तथा पर्यटन व्यवसायलाई मान्यता प्रदान गर्छ ।

होटलले दिगोपनासम्बन्धी १३ वटा क्षेत्रको स्वतन्त्र मूल्यांकनपछि उक्त प्रमाणपत्र प्राप्त गरेको हो। मूल्यांकनमा ऊर्जा व्यवस्थापन, पानीको प्रभावकारी उपयोग, फोहोर न्यूनीकरण, जिम्मेवार खाद्य सामग्रीको स्रोत छनोट, कर्मचारी तालिम र समुदायसँगको सहकार्यलगायत विषय समेटिएका थिए।

यो प्रमाणपत्र प्राप्त गरेसँगै मर्क्योर काठमाडौं सुकधारा हाइट्स ८० भन्दा बढी देशमा रहेका ‘ग्रीन की’ प्रमाणित होटल तथा पर्यटन प्रतिष्ठानको अन्तर्राष्ट्रिय सञ्जालमा जोडिएको छ।

‘ग्रीन की’ प्रमाणपत्रले होटलको दैनिक सञ्चालनमा वातावरणमैत्री अभ्यास लागू गर्न सहयोग पुर्याउने कम्पनीले जनाएको छ । यो प्रमाणपत्र हरेक वर्ष नवीकरण गर्नुपर्ने भएकाले होटलले वातावरणीय अभ्यास र दिगोपनाका मापदण्डमा निरन्तर सुधार गर्नुपर्नेछ ।

प्रमाणपत्र प्राप्त गरेको अवसरमा आयोजित कार्यक्रममा नेपालका लागि फ्रान्सका राजदूत फ्राँस्वाज पुइग–इन्जा, होटलका अध्यक्ष देशबन्धु बस्नेत, महाप्रबन्धक अभिषेक पस्रिचा तथा होटलका कर्मचारीको उपस्थिति थियो।

नेपालका लागि फ्रान्सकी राजदूत फ्राँस्वाज पुइग–इन्जाले होटललाई बधाई दिँदै यो उपलब्धिले दिगो आतिथ्य सेवाप्रतिको वास्तविक प्रतिबद्धता देखाएको बताइन् । उनले यसबाट नेपालका अन्य होटल तथा पर्यटन प्रतिष्ठानलाई पनि वातावरणमैत्री अभ्यास अपनाउन प्रेरणा मिल्ने विश्वास व्यक्त गरिन् ।

होटलका महाप्रबन्धक अभिषेक पस्रिचाले नेपालमा यो प्रमाणपत्र प्राप्त गर्ने पहिलो होटल बन्नु सम्पूर्ण टोलीका लागि गर्वको विषय भएको बताए। उनले यो उपलब्धि यात्राको अन्त्य नभई सुरुआत भएको उल्लेख गर्दै वातावरण संरक्षणका प्रयासलाई निरन्तर सुधार गर्दै लैजाने प्रतिबद्धता व्यक्त गरे ।

मर्क्योर काठमाडौं सुकधारा हाइट्सले वातावरणीय अभ्यासमा सुधार गर्दै पाहुना, कर्मचारी र समुदायका लागि अर्थपूर्ण अनुभव प्रदान गर्ने लक्ष्य राखेको जनाएको छ । 

Share News